
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकलाई कोरोना विरुद्धको खोप सहयोग गर्न आग्रह गरेकी छन् । उनले समकक्षी जो बाइडेनलाई पत्र पठाउँदै सहयोगका लागि आग्रह गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले पठाएको पत्र अमेरिकाका लागि नेपाली राजदुत डा. युवराज खतिवडाले स्टेट डिपार्टमेन्टका वरिष्ठ सल्लाहकार इर्भिन मासिङ्गालाई बुझाए । मासिङ्गासँगको भेटमा खतिवडाले नेपालमा कोभिड–१९ र खोपको पछिल्लो अवस्थाको बारेमा जानकारी गराउँदै अमेरिकी सहयोगसँग खोप सहयोगको लागि अनुरोध गरेको अमेरिकास्थित नेपाली दूतावासले जनाएको छ । नेपालले अस्ट्राजेनिका र जोन्सन एण्ड जोन्सनको खोप सहयोगको अपेक्षा राखेको उल्लेख गर्दै खरिद प्रक्रियामा पनि सहजीकरण गरिदिन आग्रह गरिएको छ ।
जवाफमा मासिङ्गाले नेपालमा अहिले भइरहेको महामारीबाट भएको मृत्युप्रति सहानुभूति प्रकट गर्दै अमेरिकी सरकारले कोभ्याक्स र द्विपक्षीय माध्यमबाट नेपाललाई अस्ट्राजेनिका खोपको निश्चित मात्र छिट्टै नै उपलब्ध गराउने आश्वासन दिएको दूतावासले जनाएको छ ।