
काठमाडौं – अन्तर्राष्ट्रिय पशुपन्छी अनुसन्धान केन्द्र (आइएलआरआइ)ले आफ्नो सम्पर्क कार्यालय नेपालमा पनि स्थापना गरेको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा जारी विज्ञप्तीअनुसार सो केन्द्रले पशुपन्छी क्षेत्रमा अनुसन्धानका कामहरु गर्ने भएको छ ।पशुपालन क्षेत्रमा ‘अनुसन्धान र विकास’को अवधारणा सहित विश्वका विभिन्न देशहरुमा कार्य गरिरहेको कन्सल्टेटिभ ग्रुप अन इन्टरनेशनल एग्रीकल्चर रिसर्च (सीजीआइएआर) अन्तर्गतको यस संस्थाले विकासोन्मुख देशहरुमा चुस्त, सुरक्षित, दिगो पशुपालन मार्फत खाद्य तथा पोषण सुरक्षा र गरिबी निवारणका क्षेत्रहरुमा कार्य गर्दै आएको छ।
नेपाल सरकारसँगको सहकार्यमा सीजीआइएआर अन्तर्गत विभिन्न विधामा चारवटा संस्था कार्यरत छन् । जसमा केन्या र इथियोपियामा केन्द्रीय कार्यालय रहेको आइएलआरआइले २०७७ माघ ५ गतेदेखि नेपालमा सम्पर्क कार्यालय स्थापना गरी कार्य प्रारम्भ गरेको छ।
अन्तर्राष्ट्रियस्तरमा पशुपन्छी तथा जनस्वास्थ्यको क्षेत्रमा तथ्यमा आधारित नीति निर्माण गर्न तथा समस्याहरुको समाधान केन्द्रित हुने गरी अनुसन्धान कार्य संचालन गर्ने यस संस्थाले नेपालमा कार्य सञ्चालन गरेपश्चात पशुपन्छीपालन, एक स्वास्थ्य तथा खाद्य स्वच्छताका क्षेत्रहरुमा अनुसन्धानका कार्यको प्रभावकारिता एवं विश्वसनियतामा वृद्धि हुने अपेक्षा गरिएको मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।
नेपालमा कार्य सुरु गरेको विषयमा सम्बन्धित सरोकारवालाहरुलाई जानकारी गराउने तथा अनुसन्धानका संभावित विषयवस्तु समेत पहिचान गर्ने उद्देश्य सहित यसैसाता कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँगको समन्वयमा भर्चुअल तथा भौतिक उपस्थितिमा बैठकको आयोजना समेत गरिएको थियो।
नेपाल सरकारको स्थास्थ्य मापदण्डको पूर्णपालना गरी कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निमित्त सचिव डा. विमल कुमार निर्मलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालय, पशु सेवा विभाग, नेपाल कृषि अनुसन्धान परिषद्, राष्ट्रिय दुग्ध विकास बोर्ड, एफएओ, आइआरआरआई लगायत विभिन्न संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।