कञ्चनपुर – भारतीय दुधुवा नेशनल पार्कमा घाँस काटन गएकी कञ्चनपुरकी एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ।
पुर्नवास नगरपालिका–९ की अन्दाजी ५८ वर्षीया धना देवी थापाको हात्तीको आक्रमणबाट बिहीबार मृत्यु भएको हो।दुधुवा नेशनल पार्कको भारतको लखिमपुर(खिरी) जिल्लाको अमरगढ भन्ने स्थानमा घाँस काट्न गएकी उनको जंगली हात्तीको आक्रमणमा परेर मृत्यु भएको हो।भारतीय वन क्षेत्रमा घाँस काट्न गएका स्थानीय आठ जना महिला मध्ये सात जनाले भागेर ज्यान जोगाएका छन्। सीमा क्षेत्र भन्दा झण्डै तीन किलोमिटर भित्र महिलालाई हात्तीले आक्रमण गरेको बुझिएको छ।
हात्तीले लखेट्दा भाग्न नसकेर कुल्चेर मारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए। महिलाको शव भारतीय प्रहरीको नियन्त्रणमा छ।