
सप्तरी – राज्यको जुनसुकै शासकीय व्यवस्थामा पनि सबैलाई सडक अन्तिम अस्त्र बन्दोरहेको छ । राणा शासनदेखि पञ्चायत हुँदै सक्रिय राजतन्त्रमा मात्रै होइन गणतन्त्रमा पनि शासक वर्गदेखि निमुखा जनतासम्मको अन्तिम अस्त्र सडक बन्दोरहेको छ ।
अहिले दुई वर्ग सडकमा छन् । एक वर्गको ठूलो आवाज बनिरहेको छ भने अर्काेको ठूलो आवाजको ओझेलमा परेको छ । दुई हप्ता अगाडिदेखि उखुको वक्यौता भुक्तानीको माग राखेर सर्लाही, रौतहट, नवलपरासीका किसानहरु काठमाडौं आएर सडक प्रदर्शन गरिरहेका छन् ।
उनीहरुको आवाज सानो बन्दै गएको छ । ऋण गरेर लगाएको उखुको बेचेको पैसा नपाउँदा शासकहरुलाई गुहार्न काठमाडौं आएका किसानको पीडा भर्खरै सडकमा पुगेका तीन पूर्वप्रधानमन्त्रीहरुले कति चासो राखेका थाहा भएन, तर किसानको आवाज मसिनो बनाउने गरी उही सडकमा उनीहरु आन्दोलनमा उत्रिए ।
आँशु चुहाउँदै किसानले राखेको मागले जनताको मन कुँडलिएका बेला शुक्रबार तीन पूर्वप्रधानमन्त्रीको सडक बसाइले सबैको अन्तिम अस्त्र सडक नै रहेछ भन्ने अनुभूति गराएको छ ।
सरकार र पार्टीको नेतृत्व सम्हालिसकेका वृद्ध भत्ता लिने उमेर पुग्न लागेको तीन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाल पुसको चिसोमा सडकमा बसेर न्याय मागिरहेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुमाथि अन्याय गरेकाले न्याय खोज्न जनतामा आएका उनीहरुले उनै जनतालाई कति न्याय गरे इतिहासमा लेखिएला । तर, यतिखेर उनी सडकमा आएर जनताको साथ खोजिरहेका छन् ।
गत आइतबार प्रतिनिधि सभा विघटनसँगै उनीहरुको पार्टी नेकपा पनि विभाजन भयो । नेकपा अहिले ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको छ । केपी शर्मा ओली समूह सरकारमा छ । प्रचण्ड–नेपाल समूह सडकमा छ । नेपाली जनताहरुले केही वर्षदेखि नेताहरुलाई सडकमा देखेका थिएनन् । तर, शुक्रबार पूर्वप्रधानमन्त्री प्रचण्ड, नेपाल र खनाललाई सडकमा पैंलेटी मारेर बसेको मात्रै देखिएनन्, उनीहरुको अनुहार मलिन र बेसहारा जस्ता देखिए ।
भूइँमा पैंलेटी मारेर बसेको प्रचण्ड, नेपाल र खनालसहितको सो समूहका नेताहरुको तस्बिर सामाजिक सञ्जालमा भाइरल बन्यो । उनी सडकमा गएको विषय भन्दा बढी फोटो भाइरल बन्न पुग्यो । जसमा उनीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउने भन्दा पनि चिसो सडकमा बसेका उनीहरुप्रति सहानुभूति र आलोचना दुवै भए ।