
सप्तरी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित बनेको बेला नेकपाका केन्द्रीय सदस्यहरु को कता ? भन्ने स्पस्ट खुलिसकेको छैन । प्रमुख नेताहरुको कित्ता क्लियर भएपनि ४४१ सदस्यमध्ये बहुमत संख्या प्रचण्ड नेपाल पक्षमै देखिएको छ ।
यद्यपी दुवै पक्षले केन्द्रीय सदस्यका नाम भने सार्वजनिक गरेका छैनन् । अहिले पनि केन्द्रीय सदस्यहरुको तानातान कायमै छ ।
यसैबीच तत्कालीन माओवादी केन्द्र र एमाले एकता गर्दा सुदूरपश्चिमबाट नौ जिल्लाका ३६ केन्द्रीय सदस्य रहेका थिए । त्यसमा तत्कालीन माओवादी केन्द्रतर्फका १४ र एमालेका २२ जना रहेका थिए । प्रधानमन्त्री ओलीको संसद विघटन गर्ने कदमसँगै पार्टी नै विभाजित हुने अवस्थामा पुगेपछि ओली र प्रचण्ड–नेपाल पक्षमा केन्द्रीय सदस्यहरु पनि विभाजित बनेका छन् । तर, तत्कालीन एमाले माओवादी एकता हुँदा माओवादीका तर्फबाट केन्द्रीय सदस्य बनेका सुदूरपश्चिमका १४ मध्ये १३ जना प्रचण्ड नेपाल समूहमै रहेका छन् । उद्योगमन्त्री समेत रहेका लेखराज भट्टबाहेक अरु सवै केन्द्रीय सदस्य प्रचण्ड नेपाल समूहमा रहेको केन्द्रीय सदस्य खगराज भट्टले जानकारी दिए । उनका अनुसार प्रचण्ड नेपाल समूहमा रहेका केन्द्रीय सदस्यहरुमा बैतडीका नरेन्द्र कुँवर, रेनु चन्द, दार्चुलाका लक्ष्मणदत्त जोशी, देवराज जोशी,अछामका तारामान स्वाँर, शरदसिंह भण्डारी, डोटीका त्रिलोचन भट्ट, कैलालीका वीरमान चौधरी, रुपा थारु, नेप बहादुर चौधरी प्रचण्ड–नेपाल समूहमै रहेका छन् । त्यसैगरी कञ्चनपुरका बिना मगर, देवीलाल चौधरी, तथा डडेल्धुराका खगराज भट्ट ओली समूहमा नलागेर प्रचण्ड–नेपाल समूहमै लागेका छन् ।
त्यस्तै पूर्वमाओवादी पक्षका चार जिल्ला अध्यक्ष र ५ जना सचिव पनि प्रचण्ड नेपाल–समूहमै छन् । उक्त प्रदेशका पूर्वमाओवादीतर्फका १४ जना प्रदेश सांसद पनि प्रचण्ड समूहमै रहेको उनीहरुले बताएका छन् । तत्कालीन एमालेतर्फका भने अहिलेसम्म तानातानमै रहेका छन् ।