
सप्तरी – आफ्नै साथी माथि धारीलो हतियार प्रहार गरी फरार रहेका ओखलढुंगाका दुई युवालाई प्रहरीले एक महिनापछि पक्राउ गरेको छ । जिल्लाको मानेभज्याङ गाउँपालिका ४ का स्थानीय सनिकुमार राईलाई धारिलो हतियार प्रहार गरेर घाईते बनाई फरार रहेका सोही स्थानका अविन राई र राजकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । गत मंसिर ४ गते देउसी खेल्ने विषयमा विवाद हुँदा शारिरीक रुपमा अशक्त समेत रहेका सनिकुमारलाई धारिलो हतियार प्रहार गरेर गम्भिर घाईते बनाई फरार भएका उनीहरुलाई सुनसरीको धरानबाट पक्राउ गरिएको हो र
साथीमाथि धारिलो हतियार प्रहार गरेर फरार भएका उनीहरुलाई धरानमा लुकीछिपी बसिरहेको विषेश सूचनाका आधारमा ईलाका प्रहरी कार्यलय धरानसँगको समन्वयमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक तथा सूचना अधिकारी शिव कट्टेलले जनाकारी दिए । उनीहरुलाई सोमबार पक्राउ गरेर मंगलबार बिहान जिल्लामा ल्याइएको छ । घटनामा संलग्न ३ जनामध्ये अर्का एकजना भने अझै फरार रहेकाले खोजीकार्य भैरहेको प्रहरीको भनाई छ ।
हतियार प्रहारबाट गम्भिर घाईते भएका राईको उपचार भैरहेको छ । घटनामा संलग्न अविन तथा राजकुमार राईसहित फरार भएका ब्यक्ति विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता भएको छ । फरार भएका मध्ये पक्राउ परेका दुई जनाविरुद्ध जिल्ला अदालत ओखलढुंगाबाट सात दिनको म्याद थप गरि अनुसान्धान सुरु गरिएको प्रहरी निरिक्षक कट्टेलले जानकारी दिए ।