
सप्तरी – लमजुङमा यस वर्ष किसानको अपेक्षाअनुसार उत्पादनमा वृद्धि हुन सकेन ।धानखेतीमा फूल फुल्ने बेलामा पानी पर्दा र युरिया मलको अभावले धान उत्पादनमा ह्रास आएकोे कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस वर्ष समयमै पानी पर्दा र रोपाइँ समयमै सम्पन्न हुँदा धान उत्पादन वृद्धि हुनुपर्ने जति हुन नसकेको केन्द्रका कृषि अर्थविज्ञ मदन रेग्मीले जानकारी दिए । गत वर्षको तुलनामा भने धान उत्पादनमा वृद्धि भएको उनको भनाइ छ ।धान लगाइसकेपछि परेको पानी र सिँचाइको सविधा भएका ठाउँमा भने धान उत्पादन राम्रो भएको केन्द्रले जनाएको छ ।जिल्लाको सुन्दरबजार नगरपालिका–४ का किसान लक्ष्मण लामिछानेले ३० रोपनी क्षेत्रफलमा उन्नत र हाइब्रिट धानखेती गरेर गत वर्ष ८० मुरी धान उत्पादन गरे । सोही क्षेत्रफलमा गत वर्षको तुलनामा यस वर्ष समयमै पानी परेकाले १०० मुरीभन्दा बढी धान उत्पादन हुने अनुमान उनको थियो । तर आवश्कताभन्दा बढी पानी परेकाले धानमा फुस्रो लाग्ने र युरिया मलको अभावका कारणले गर्दा गत वर्षको भन्दा घटेर ६५ मुरीमात्रै धान उत्पादन भएको किसान लामिछानेको भनाइ छ ।सोही नगरपालिका–११ का बलबहादुर दुराले गत वर्ष २० रोपनी क्षेत्रफलमा ६० मुरी धान उत्पादन गरेका थिए ।‘यस वर्ष समयमै पानी परेकाले रोपाइँ पनि राम्रो नै भयो । धान उत्पादनमा समेत वृद्धि हुने अनुमान गरेको पनि गत वर्षको भन्दा पनि कम उत्पादन भयो,’ उनले भने । उनका अनुसार यस वर्ष जम्मा ४० मुरीको हाराहारीमा धान उत्पादन भएको छ ।सोही नगरपालिका–४ का कृष्णप्रसाद अधिकारीले ३० रोपनी क्षेत्रफलमा गत वर्ष ३० मुरी धान उत्पादन गरेको बताए । उनका अनुसार यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरे पनि झन् घटेर २१ मुरी मात्र उत्पादन भएको छ ।उनले भने, ‘यस वर्ष बढी पानी पर्यो, कुलो भत्कियो साथै य्ुरिया मलको अभावले गर्दा धान उत्पादन वृद्धि हुन सकेन । उहाँहरूको मात्रै होइन जिल्लाका अधिकांश किसानले यस वर्ष धान उत्पादनमा वृद्धि हुने अपेक्षा गरे पनि अपेक्षाअनुसारको धान वृद्धि हुन सकेन ।’
यस वर्ष १४ हजार २८० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिक टन धान उत्पादन भएको कार्यालयका कृषि अर्थविज्ञ रेग्मीको भनाइ छ । उनले भने, ‘गत वर्षको तुलनामा जम्मा २७० मेट्रिक टन धान बढी उत्पादन भएको छ ।’