
सप्तरी – बोक्सी आरोपमा कुटिएका काशिगाउँका पीडितले न्यायालय धाएको दुई वर्ष वितिसक्यो । बोक्सीको अरोपमा कुटाइ खाएका धार्चे गाउँपालिका ६ काशिगाउँकी ५८ वर्षीया काली गुरुङ, मिनकुमारी गुरुङ र सूचना गुरुङले अदालतमा मुद्धा दर्ता गरेको लामो समयसम्म न्याय पाउन सकेका छैनन्।
पीडितहरुको जाहेरीको आधारमा जिल्ला अदलत गोरखामा २०७५ सालको भदौ ५ गते स्थानीय रोशन गुरुङ, काजी गुरुङ, आइतीमाया गुरुङ, प्रमिला गुरुङ र मिनु घलेविरुद्ध मुद्धा दर्ता भएको थियो । १५ पटकसम्म पेशी सरेको सो मुद्धाको फेरि पुस ५ गते पेशी सरेको अदालतले जनाएको छ । दुईवर्षभित्र सबै मुद्धाको फैसला गर्ने नीति भएपनि सो मुद्धा भने २७ महिनादेखि फैसला नभएको अदालतले जनाएको छ । ‘फौजदार मुद्धा रहेछ तर अहिलेसम्म फैसला भएको छैन, ‘ अदालतका स्रेस्तेदार विनोद अधिकारीले भने, ‘यसअघि १५ पटक पेशी चढिसकेको रहेछ अझै पुस ५ गतेका लागि पेशी सरेको छ ।’अदालतले २०७५ सालको भदौ ६ गते उनीहरु पाँचजनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी लिएर गाउँ गएका प्रहरीले उनीहरु फरार रहेको भन्दै २०७५ साल भदौ १२ गते घरमा पुर्जी टाँस गरी फर्किएका थिए ।
पक्राउ गर्न आएका प्रहरीले उनीहरुलाई पक्राउ नै नगरी घरमा चिठी टाँसेर फर्किएको थियो । रोशन गुरुङलाई भने प्रहरीले पक्राउ गरेको थियो । अदालतले उनलाई एकलाख रुपैयाँ धरौटीमा साधारण तारेखमा छाडेको थियो । तर उनी विगत एकवर्षदेखि तारेखमा हाजिर हुन आउनसमेत छाडेका अदालतले जनाएको छ । ‘प्रहरीले एकजना रोशन गुरुङलाई मात्र पक्राउ गरी अदालतमा हाजिर गराएको थियो । अदालते उनलाई एकलाख रुपैयाँ धरौटी लिएर साधारण तारेखमा छाडेको थियो,’ स्रेस्तेदार अधिकारीले भने, ‘एक वर्ष भयो, उ पनि तारेखमा आउन छाडेको छ । अरु चारजना पनि फरार छन् ।’त्यसयता उनीहरुको पेशी २०७५ सालको पुस २५ मा जग्गा रोक्का गरी पहिलो पेशी चढेको थियो । त्यसपछि २०७६ सालको बैशाख १९ गते, जेठ पाँच गते, असार १६ गते पेशी सरेको थियो ।साउन १५ मा बकपत्र आदेश गरिएको थियो भने पुन भदौ दुई गते, असोज आठ गते कात्तिक २७ गते, पुस १ गते, पुस १६ गते, माघ २७ गते, फागुन २९ गते पनि पेशी सारिएको थियो । त्यसपछि फेरि २०७७ सालको साउन २९ गते, असोज छ गते, मंसिर २३ गते पेशी सारिएको थियो ।अदालतले पक्राउ पुर्जी जारी गरेका पाँच जानामध्ये रोशन गुरुङ वैदेशिक रोजगारीमा गएका छन् भने अन्य चार जना गाउँमै रहेका छन् । तर प्रहरीले भने फरारको सूचीमा राखी खोजी नगरेको स्थानीयले जनाएको छन् ।
२०७५ सालको साउन १० गते मृत्यू भएका काशिगाउँका भीमबहादुर गुरुङलाई बोक्सी लागेको र उनको पेटभित्र सर्प, भ्यागुता, माछा, गँगटा हुनसक्ने भन्दै स्थानीय रोशन गुरुङ नेतृत्वको टोलीले शव चिरेको थियो । साथै सो टोलीले स्थानीय काली गुरुङ र उनका छोरीहरु मीनकुमारी गुरुङ र सूचना गुरुङलाई बोक्सीको आरोप लगाइ कुटपिट गरेको थियो ।