
विराटनगर – मोरङको ग्रामथान गाउँपालिका–४ मा टिपरले ठक्कर दिँदा सोमबार दिउँसो मोटरसाइकलमा सवार एकजना युवाको मृत्यु भएको छ । मोतिपुर–तेतरिया सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ९१२० नम्बरको टिपरले को २९ प ९५६० नम्बरको मोटसाइकललाई ठक्कर दिँदा सोमबार दिउँसो २ :३० बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका ग्रामथान–४ का २५ वर्षीय सुदीप विश्वासको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका विश्वासको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा दिउँसो ३:३० बजेतिर मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक ग्रामथान–४ का २५ वर्षीय विवेककुमार माझी थारु सामान्य घाइते भएको खड्काले बताए । उनका अनुसार मोटरसाइकलले टिपरलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनालगत्तै प्रहरीले टिपर चालक कटहरी गाउँपालिका–२ का ५३ वर्षीय आनन्दकुमार श्रेष्ठलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ ।