राजविराज सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिकाका नगर प्रमुख रामलखन मलाहले पदभार ग्रहण गरे पश्चात प्रत्येक ६/६ महिनामा प्रमुख प्रशासकीय अधिकृत परिवर्तन गर्ने गरेका छन् । मलाहको कार्यकालको दुई वर्षको अवधि बिते सँगै हालसम्म चार जना प्रमुख प्रशासकीय अधिकृत परिबर्तन भएका हुन् ।
नगर प्रमुखको नकारात्मक कार्यशैलीका कारण अधिकृतहरू नटिकेको स्थानीयहरू बताउँछन् । हाल नगरप्रमुख मलाहको यस्तै रबैया देखिएको उनीहरुको आरोप छ ।
नेकपा एमालेबाट निर्वाचित मलाहले हाल सत्ता शक्तिको दम्भमा प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्णलाई सरूवा गराई पशु प्राविधिक रामकिसुन यादवलाई निमित्त बनाउन मन्त्रालयमा लबिंग गरिरहेको स्थानीयले बताए ।
निमित्त कार्यालय प्रमुखले आफुले भनेको मान्ने, भने जस्तै गर्ने र अनियमितता गर्न सजिलो हुने भएकाले प्रमुख मलाहले यादवलाई रूचाएको र निमित्त बनाउन पार्टीको प्रयोग गरिरहेको स्थानीयको भनाइ छ ।
नगर प्रमुख मलाहको हाल सम्मको कार्यावधिमा रामकिसुन यादव, विनय कुमार सोनु, राजकुमार दास र कुन्दन कुमार कर्णले प्रमुख प्रशासकीय अधिकृतको रूपमा काम गरिसकेका छन् । यहीं अनुपातमा प्रमुख प्रशासकीय अधिकृतको सरूवा भै रहे नगर प्रमुख मलाहको कार्यकालमा दश वटा सम्म प्रमुख प्रशासकीय अधिकृत हाजिर हुने र ६ महिनामा सरूवा हुने स्थानीय बताउँछन् ।
व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि नगरप्रमुखले यस्तो कार्य गरेको स्थानीयले बताए ।
अवधि नपुग्दै हुने प्रमुख प्रशासकीय अधिकृतको सरूवाको कारण नगरपालिकाको सेवा प्रवाह अस्त व्यस्त हुने गरेको, सर्वसाधारण सेवाग्राहीहरूलालाई मर्का पर्ने गरेको र विकासका कामकाज समेत सुस्त भएको उनीहरुको भनाइ छ ।