काठमाडौं – टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा खेल्ने १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले शनिबार घोषणा गरेको टिममा रोहित पौडेलको कप्तान पद यथावत् छ । अन्य खेलाडीमा कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी र करण केसी हुनुहुन्छ । यस्तै अविनाश बोहरा, प्रतिश जी.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारलाई टीममा समावेश गरिएको छ ।
आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ गतेदेखि २० गतेसम्म नेपालमै आयोजना हुँदैछ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ । समूह ए मा नेपाल, ओमान, सिङगापुर र मलेसिया छन ।
समूह बी मा हङकङ, युएई, बहराइन र कुवेत रहेका छन । यस छनोट प्रतियोगितामा फाइनल पुग्ने दुई टोली २०२४ मा हुने टी२० विश्वकप खेल्न पाउने प्रावधान रहेको छ । विश्वकप टी २० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।