
काठमाडौं- निर्वाचन आयोगले निर्वाचनको ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म सबै अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई आग्रह गरेको छ।
आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको हो। र, मतदान हुने दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न पनि उसले भनेको छ । यही वैशाख ३० गते स्थानीय तह निर्वाचन हुँदै छ ।
स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको आयोगले पत्रकार सम्मेलनमार्फत बिहीबार जानकारी दिएको छ। शुक्रबारसम्म सबै जिल्लामा ढुवानी गरिसकिने जानबारी प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए। उनका अनुसार मधेसबाहेक प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ।
यस्तै, निर्वाचन अवधिभर मादक पदार्थ निषेधलाई प्रभावकारी बनाइने भएको छ। स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ मा मादक पदार्थ निषेध गर्ने व्यवस्था छ।
यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १३ बजेदेखि मतदान सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गर्न गृहलाई लेखी पठाउने निर्णय भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ।