
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।
न्यायाधीशहरू सपना प्रधान मल्ल र टङ्कप्रसाद मोक्तानको संयुक्त इजलासमा सुनुवाइ प्रारम्भ भए पनि समय अभावका कारण मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
गभर्नर अधिकारीले सरकारले विना कारण आफूमाथि छानबिन समिति गठन गरेको भन्दै गत वैशाख ४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । गत वर्षको चैत २५ गते बसेको मन्त्रिपरिषद्ले गभर्नर अधिकारीमाथि छानबिन गर्न जाँचबुझ समिति गठन गर्ने निर्णय गरेसँगै उनी निलम्बनमा परेका थिए ।
तर वैशाख ६ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले जाँचबुझ समिति गठन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएपछि गभर्नर अधिकारी काममा फर्किएका छन् ।