
भारतको कर्नाटकका मन्त्री केएस ईश्वरप्पाले राजीनामा दिएका छन् । ठेकेदारको आत्महत्यामा नाम जोडिएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
ठेकेदार सन्तोष पाटिलको आत्महत्या प्रकरणमा उनको नाम जोडिएको थियो । मुख्यमन्त्री बसवराज बोम्मईलाई ईश्वरप्पाले राजीनामा बुझाएका छन् । ईश्वरप्पाका समर्थकले भने उनलाई फसाउन खोजिएको भन्दै आक्रोशित भएर मुख्यमन्त्री कार्यालयबाहिर प्रदर्शन गरेका छन् ।
ईश्वरप्पाले आफूले स्वेच्छाले राजीनामा दिएको बताए । तर ठेकेदार सन्तोष पाटिलको आत्महत्या प्रकरणको अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने र आत्महत्या हो वा हत्याभन्ने यकिन गर्नुपर्ने माग उनको छ ।
सन्तोष गत सोमबार उडुपीमा मृत भेटिएका थिए । सन्तोषले त्यसको केही अघि आफ्नो मृत्यु भएमा त्यसको जिम्मा मन्त्री ईश्वरप्पाले लिनुपर्ने भनेर आफ्ना साथीलाई म्यासेज पठाएको पाइएको छ ।
सन्तोषले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेर मन्त्री ईश्वरप्पाले ४० प्रतिशत कमिशन मागेको आरोपसमेत लगाएका थिए । ईश्वरप्पाले भने सन्तोषको मृत्युमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । आफूले सन्तोषविरुद्ध मानहानीको मुद्दा दर्ता गरेको ईश्वरप्पाले स्पष्ट पारेका छन् ।