
सप्तरी – अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको बताएका छन् । सोमबार अर्थ मन्त्रलयमा पत्रकार सम्मेलन गर्दै उनले बाहिर कुप्रचार गरिएकोजस्तो अर्थतन्त्रमा सङ्कट नआएको समेत बताए ।
यसअघि आइतबार (हिजो) नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासायी बन्दै आएको र इतिहासमै पहिलोपटक कमजोर बनेको बताएको थियो । त्यसको जवाफमा पत्रकार सम्मलेन आयोजना गरेर मन्त्री शर्माले अर्थतन्त्रका विषयमा कुप्रचार भएको भन्दै अर्थ व्यवस्थामाथि राजनीति नगर्नसमेत आग्रह गरे ।
आर्थिक सूचकाङ्क सकारात्मक हुँदै गएको दाबी गर्दै उनले भने, ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासायी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन ।’
‘फागुनसम्म कतिपय सूचकाङ्क सुधारतिर गएको छ,’ उनले भने, ‘ऋण, विप्रेषण, अनुदार राजश्व सङ्कलन वृद्धि भइरहेकाले पनि अहिलेको दबाब कम हुने छ । अर्थतन्त्रका सूचना कमजोर भए पनि धरासायी नै बनेको अवस्था छैन ।’ यस्तै उनले, अर्थतन्त्र कमजोर अवस्थातिर गइरहेको भन्दै त्यसका लागि सरकारले विभिन्न प्रयास गरिरहेको बताए ।