रौतहट – रौतहट प्रहरीले भारतबाट भन्सार छली ल्याएका मोबाइल, घडीसहित एक भारतीयलाई बिहीबार पक्राउ गरेको छ । भारतबाट अवैध रुपमा ओप्पो कम्पनीको मोबाइल ३ थान, भिभो कम्पनीको मोबाइल १ थान र टाईटन कम्पनीको १४ थान घडीसहित विहार राज्य मोतिहारी जिल्ला पूर्वी चम्पारण घोडा सहन नगर पञ्चायत ४ का २८ वर्षीय महम्द हसन आलमलाई पक्राउ गरिएको जिल्ला प्रहरीका डिएसपी सुनीलले मल्लले बताए ।
बरामद समानको मूल्य १ लाख ४४ हजार ८ सय छयसठ्ठी रहेको प्रहरीले जनायो ।
आलम नेपाल-भारत सीमा क्षेत्रको मुख्य बाटो हुँदै आएको हो वा होइन भन्ने खुलेको छैन । सदरमुकाम गौर नगरपालिका ३ स्थित बीपी चोकमा आलमले बोकेको झोला जाँच गर्दा अवैधरुपमा भन्सार छलेर ल्याएको मोबाइल र घडी बरामद गरेको डिएसपी मल्लले बताए ।
पक्राउ परेका भारतीय नागरिक आलमलाई थप अनुसन्धान र कारबाहीका लागि गौर भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरीले जनायो ।