
काठमाडौँ – कांग्रेसले युक्रेनमा रुसबाट भएको सैन्य हस्तक्षेपका कारण प्रभावित नेपालीहरूलाई उद्धार गरी स्वदेश फर्काउने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ ।
प्रवक्ता प्रकाशशरण महतले युक्रेनका जोखिमपूर्ण अवस्थामा रहेका नेपालीको सुरक्षा र शीघ्र उद्धारको व्यवस्था गर्न आग्रह गरेका हुन् । उनले कांग्रेसको अनुरोधमा सरकारले त्यहाँ रहेका नेपालीहरुलाई उद्धार गर्ने प्रबन्ध मिलाइरहेको समेत जानकारी दिए ।
प्रवक्ता महतले सामाजिक सञ्जालमार्फत् आग्रह गर्दै भनेका छन्, ‘हामी युक्रेनको राजधानी किभ र युद्ध प्रभावित क्षेत्रमा रहेका सबै नेपालीलाई सुरक्षित स्थानमा रहन र युक्रेनसमेत हेर्ने जिम्मेवारी प्राप्त जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासले दिएका निर्देशनहरुको पालना गर्न आग्रह गर्दछौं ।’
उनले युक्रेन र छिमकी मुलुकमा रहेका पार्टीका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संगठनहरुलाई युक्रेनमा रहेका नेपालीहरुको सुरक्षा र उद्धार कार्यमा सरकारले गरेको प्रयासमा सघाउनसमेत आग्रह गरेका छन् ।