
काठमाडौँ – सरकारमा रहेका तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरुबीच मतैक्य नहुँदा अमेरिकी अनुदान सहयोग एमसीसी सम्झौता अनिश्चित बन्दै आएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको संयुक्त हस्ताक्षरमा एमसीसी सम्झौताको विषय फागुन १६ भित्र टुंग्याउने बताएका थिए। तर फागुन १६ नजिकिँदै गर्दा दलहरुले सहमति जुटाउन सकेका छैनन्।
सरकारमा रहेका दलहरुले नै एमसीसीबारे फरक–फरक धारणा सार्वजनिक गर्दै आएका छन्। सत्ता गठबन्धनभित्र सहमति नहुँदा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी दल एमालेसँग सहयोग मागे पनि पाउन सकेका छैनन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले विश्वासिलो कुरा नगर्दा प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा एमसीसीको विषयमा दर्होसँग अघि बढ्न सकेका छैनन्। प्रधानमन्त्री देउवा र कांग्रेस एमसीसी सम्झौता संसदबाटै अनुमोदन हुनुपर्ने पक्षमा छन्। कांग्रेसको संसदीय दलले निर्णयअनुसार नै एमसीसी संसद बैठकमा टेबुल हुनुपर्नेमा प्रधानमन्त्री अडिग छन्। तर सत्ता गठबन्धनका अन्य दल माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा नेपाल यसमा सहमत भइसकेका छैनन्।
माओवादी केन्द्र र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी संसदमा टेबुल गर्ने पक्षमा छैनन्। जनता समाजवादी पार्टी सत्ता गठबन्धनभित्र सहमति भएअनुसार गर्नुपर्ने पक्षमा छ भने जनमोर्चा नेपाल सम्झौता नै खारेज हुनुपर्ने पक्षमा छ।
सत्ता गठबन्धनबाट साथ र सहयोग नपाएपछि कांग्रेस एक्लिएको छ। कांग्रेसको एक्लो प्रयासले एमसीसी अघि बढ्न सक्दैन। जसले गर्दा एमसीसी अनिश्चयको स्थितिमा पुगेको छ।
कांग्रेस तत्काल सत्ता गठबन्धन तोडिहाल्ने पक्षमा छैन। तर नतोडौं एमसीसी संसदमा प्रस्तुत हुने स्थिति छैन। सत्ता गठबन्धनका अन्य दलको विकल्पमा एमालेतिर लाग्दा पनि उपलब्धि हात लागेको छैन। बिहीबार प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेट भयो तर दुई दलबीच सहकार्य हुनेबारे कुनै ठोस सहमति नभएको बुझिएको छ।
ओलीले सत्ता गठबन्धन के हुन्छ भन्ने एकोहोरो प्रश्न गरेर प्रधानमन्त्री देउवालाई एमालेप्रति अविश्वासीमात्रै बनाएको स्रोत बताउँछ। उनले देउवालाई भराेषा दिलाउने भन्दा पनि प्रधानमन्त्रीमाथि नै आशंका व्यक्त गरेकाे स्राेतले बतायाे। ओली सत्ता गठबन्धन फुटाउन चाहन्छ। सत्ता गठबन्धन फुटेपछि फेरि आफ्नै नेतृत्वमा सरकार गठन गर्ने दाउमा ओली रहेका छन्। जसले स्थानीय तहदेखि तीन तहको निर्वाचन गराउनेछ।
ओली आफ्नै नेतृत्वमा निर्वाचन गराउने सरकार गठन गर्ने ताकमा रहेकाले प्रधानमन्त्री देउवा र कांग्रेस एमाले र ओलीलाई झट्टै विश्वास गरिहाल्ने पक्षमा नरहेको कांग्रेस नेताहरुले नै बताउँदै आएका छन्। त्यसमाथि ओलीले एमसीसी संसदबाट पारित गराउन सहयोग गर्छु भनेर स्पष्ट भनिसकेका छैनन। पछिल्लो समय एमाले ९० प्रतिशतभन्दा बढी सांसद एमसीसीलाई एमालेले बोक्न नहुने पक्षमा पुगेका छन्। त्यसैले पनि ओलीले प्रधानमन्त्री देउवालाई खुलेर अडानका साथ एमसीसीमा सहयोग गर्छु भन्न नसकेका हुन्।
सत्ता गठबन्धनमा कांग्रेसबाहेक चार दल विपक्षमा र प्रमुख प्रतिपक्ष एमाले अस्पष्ट हुँदा एमसीसी अनिश्चित नै भएको छ।
यसै सन्दर्भमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज शुक्रबार पनि बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बैठक बस्ने भएको हो।
शीर्ष नेताहरुले बिहीबार पनि बैठक गरेका थिए। उक्त बैठक नै सत्ता गठबन्धनको अन्तिम एवं निर्णायक बैठक भनिएको थियो तर उक्त बैठकमा दलहरुले आज पुनः बैठक बस्ने सहमति जनाए।
बिहीबारको बैठकमा शीर्ष नेताहरुसँगै कांग्रेसका महामन्त्री गगनकुमार थापासँगै कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्का, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका झलनाथ खनाल र जनता समाजवादीका राजेन्द्र श्रेष्ठ सहभागी भएका थिए।