
सप्तरी – उनले पहिलो पटक काठमाडौंमा पाइला टेकेकी थिइन् । श्रीमान सम्पर्कविहीन भएपछि नयाँ बसपार्कमा काम खोज्दै थिइन् । मंगलबार दिउँसो बसपार्क क्षेत्रमा उनी एक्लै टोलाइरहेकी थिइन्।
त्यही बेला मुगुका युवराज बडुवालसँग उनकाे भेट भयो । कुराकानीकै क्रममा युवराजले उनलाई फकाए । आर्थिक प्रलोभन र काम दिलाइदिने आश्वासन पाएपछि ती महिला उनीसँग खाजा खान तयार भइन् । त्यही क्रममा युवराजले बसपार्क नजिकैको एक होटलमा लगे । जहाँ उनले मात्र बलात्कार नगरी अरू साथीहरूलाई पनि बलात्कार गर्न लगाए ।
सामूहिक बलात्कारको सिकार बनेर विक्षिप्त बनेकी ती महिलामाथिको अत्याचार त्यतिकैमा सीमित रहेन । विभिन्न होटलमा लगेर अन्य व्यक्तिहरूले पनि त्यही प्रलोभन देखाउने अनि बलात्कार गर्ने थाले ।
दिनभर यो सिलसिला जारी रह्यो । सामूहिक बलात्कारको सिकार भएपछि उनी प्रहरी खोज्दै गइन् । बसपार्क नजिकै रहेको महानगरीय प्रहरी प्रभाग बसपार्कमा उनी पुग्दा दिउँसोको तीन बजेको थियो ।
प्रहरीलाई उनले आफू सामूहिक बलात्कारको सिकार भएको जानकारी दिइन् । प्रहरीसँग भनिन्, ‘मलाई विभिन्न व्यक्तिले बलात्कार गरे । बसपार्कमा ।’
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी सुदिप गिरीका अनुसार घटनाबारे प्रहरीलाई जानकारी गराउँदा उनी धेरै बोल्ने सक्ने अवस्थामा थिइनन् ।
घटनाबारे जानकारी आएपछि प्रहरी सुरुमा उनको स्वास्थ्य परीक्षण गर्नतिर लाग्यो । थापाथलीस्थित प्रसुतिगृहमा उनको प्रारम्भिक स्वास्थ्य परीक्षण गरियो ।
डाक्टरको उनको स्वास्थ्य परीक्षण गराएपछि थप कुराकानी गर्ने अनुमति दिए ।
‘घटनाबारे थाहा पाएपछि हामीले उनको स्वास्थ्य परीक्षण गरायौं । शारीरिक स्वस्थता र मानसिक स्वस्थता परीक्षण गरियो । पछि डाक्टरको अनुमतिले उहाँसँग थप कुरा गर्न थाल्यौं’, एसएसपी गिरीले भने ।
सुरुमा भेट्दा कुन ठाउँमा घटना भयो भन्ने समेत जानकारी दिन सक्ने अवस्थामा उनी थिइनन् ।
यस सम्बन्धमा गिरी भन्छन्, ‘कुन होटलमा ? को मान्छे ? केही पनि भन्न सक्ने अवस्थामा हुनुहुन्थेन । खाली बसपार्क बसपार्कमा भनिराख्नुभएको थियो ।
ती महिलाले भनेको आधारमा प्रहरीले बसपार्क क्षेत्रको सिसिटिभी फुटेज हेर्न थाल्यो । फुटेज हेर्दा आरोपितमध्येका एक जना देखिए । उनै महिलासँग हिँडिरहेको अवस्थामा । त्यहीबाट प्रहरीले बल्ल अनुसन्धान अगाडि बढायो ।
प्रहरीलाई एउटा होटल मात्र नभएर बसपार्क वरपरका १०-१५ वटा होटल हुनुपर्छ भन्ने अनुमान थियो । अनुमान गर्दा एउटा होटल निस्कियो । जहाँ उनी बलात्कृत भएकी थिइन् ।
सोही आधारमा प्रहरीले मान्छे पक्राउ गर्दै हिँड्यो । जति मान्छेलाई पक्रिँदै गयाे, महिलाले चिन्दै गइन् । सोही आधारमा अभियुक्त मध्येका सात जनालाई पक्राउ गरिएको एसएसपी गिरीले बताए । आज थप एक जनालाई पक्राउ गरिएको र एक जना अझै फरार रहेको उनको भनाइ छ ।
रातभर अभियुक्तको पहिचान गर्न महिलाले सघाइन् । ‘लेटनाइटसम्म हामीसँगै मान्छे चिन्ने काममा सहयोग गर्नुभयो । पछि रेस्टका लागि पठायौं । आज फलअपका लागि अस्पताल जानुभयो’, एसएसपी गिरीले भने, ‘अहिले स्वास्थ्य अवस्थामा सामान्य छ । मनमा डर भने अझै पनि कायमै छ । हामीले उहाँलाई सम्झाउने काम गरिरहेका छौं ।’
उनीसँग प्रहरीले चिकित्सकको अनुमति मात्रै सोधपुछ गर्ने काम गरिरहेको छ । फरकफरक व्यक्तिले फरकफरक होटलमा लगेर बलात्कार गरेको खुल्न आएको उनको भनाइ छ ।
आरोपितहरूले पनि यस आरोप स्वीकार गरिसकेका छन् । थप अनुसन्धान र फरार अभियुक्त खोज्ने क्रम जारी रहेको एसएसपी गिरीले बताए ।
पक्राउ परेकाहरू वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । वैदेशिक रोजगारीका लागि काठमाडौं आएर बसपार्क क्षेत्रमा बसिरहेका उनीहरूले महिलालाई एक्लै देखेपछि बलात्कार गरेका हुन् ।
पक्राउ पर्नेमा हिक्मत नेपाली, रतन नेपाली, दीपक नेपाली, सुरेश सेजुवाल, शिवहरि बुढा, युवराज बडुवाल लगायतका छन् । पक्राउ परेका सात जना मुगुका र एक जना अर्घाखाँचीका रहेको प्रहरीले जनाएको छ ।
श्रीमान बेपत्ता भएपछि एकल रहेकी उनी काम खोज्न काठमाडौं आएकी थिइन् । काठमाडौंको नयाँबसपार्कमा ओर्लिएकै दिन उनी सामूहिक बलात्कारको सिकार भएकी हुन् ।