
प्रचण्डले ‘भर्चुअल’ सम्बोधन गर्ने
काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले आज ७५३ वटा स्थानीय तहको अधिवेशन गर्ने भएको छ। माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार शनिबारको सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्ने छ। मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ।
पालिका सम्मेलनलाई शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दिउँसो ‘भर्चुअल’ सम्बोधन गर्दैछन् । माओवादीले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिकास्तरीय सम्मेलन आयोजना गरेको हो।
माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुनेगरी नीति र विधि तय गरेको निर्वाचन आयोगका प्रमुख श्रेष्ठको भनाइ छ। माओवादीले पार्टीले विधानको ब्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ। प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए।
वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १५० जनाका दरले सहभागी हुनेछन्। यस्तै नगरमा २००, उपमहानगरमा ३०० सय र महानगरमा ४०० प्रतिनिधिको उपस्थितीमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिइएको छ। पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ। वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्दछ।
माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ।