नेपालीलाई ठगेको आरोपमा क्रिश्चियन धर्मका भारतीय पास्टर पक्राउ परेका छन्।
संखुवासभाकी एक महिलाबाट साढे ५ लाख रुपैयाँ ठगी गरेको आरोपमा बिहीबार साँझ काकडभिट्टाबाट भारतीय नागरिक सन्दीप क्षेत्रीलाई पक्राउ गरिएको अपराध महाशाखाले जनाएको छ।उनलाई बिहीबार राति नै काठमाडौं ल्याइएको छ। ठगी कार्यमा उनले चर्चमा रहेका नेपालीलाईसमेत प्रयोग गरेको पाइएको छ। यसरी ठगिएको रकम लिने पोखरा र झापाबाट एक एक जना महिला पनि पक्राउ परेकी छन्। उनीहरुलाई पनि बिहिबार नै काठमाडौं ल्याइएको छ।पक्राउ परेका ती महिलाले भने भारतीय पास्टरले आफूहरुलाई फसाएको बताएका छन्।
खाँतबारीकी समिक्षा मगरलाई करोडौं डलर पठाइदिएको र त्यो रकम लिनका लागि भन्सार र प्रहरीलाई रकम दिनु पर्ने भन्दै दुई पटकमा साढे ५ लाख रुपैयाँ लिएको पाइएको छ।करोडौं डलर कार्गो गरेर पठाइदिन्छु भनेका उनले रसिदको फोटो समेत पठाइदिएका थिए। रसिद लिएर काठमाडौं आएकी समिक्षासँग भन्सार तिर्न भन्दै सुरुमा साढे दुई लाख रुपैयाँ मागेका थिए। उनले त्यो रकम पोखरा पठाएकी थिइन्।पछि फेरि काकडभिट्टाकी चम्पा तामाङको खातामा रकम जम्मा गर्न लगाएका थिए। ५ लाख बढी लिइसकेपछि पनि त्यो सामान नदिई अझै रकम मागेपछि समिक्षाले प्रहरीमा उजुरी गरेकी थिइन्। पोखरामा रकम जम्मा गरिएकी रुद्रमाया राईले पनि त्यो रकम काकडभिट्टाकै चम्पाको खातामा जम्मा गरिदिएको बताएकी छन्। चम्पाले सबै रकम निकालेर भारतीय पास्टरलाई नगद नै दिएको बताएपछि उनलाई पक्राउ गरेर काठमाडौं ल्याइएको हो।
उनलाई पहिले नै तिम्रो खातामा रकम आउँछ मलाई निकालेर दिनु भनेको पाइएको प्रहरीले जनाएको छ। ‘उनीहरुको क्रिश्चियन नेटवर्क रहेछ। त्यसैको प्रयोग गरेर ठगेको पाइएपछि पक्राउ गरिएको हो’, अपराध महाशाखा प्रमुख चन्द्रकुवेर खापुङले नेपालखबरसँग भने।