जनकपुरधाम – प्रदेश प्रहरी प्रमुख (डीआईजी)को नाममा पैसाको ‘बार्गेनिङ’ गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । बुधबार रौतहट प्रहरीले अडियोको अधारमा सर्लाहीकी सुशीला थापा दाहाललाई पक्राउ गरेको हो ।
प्रदेश नम्बर–२ का प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) उमेश रञ्जीतकारको नाम लिएर जागिर स्थायी गराउन भन्दै ६ लाख रुपैयाँ घुस रकम माग गरेको आरोप ती महिलामाथि लागेको छ । पर्सा, मणिपुरका उदासकुमार पाण्डेसँग गोरुडास्थित प्रहरी स्कुलमा शिक्षक पदमा स्थायी गराइदिने भन्दै पैसाको बार्गेनिङ गरेको अडियो बाहिरिएको थियो । अडियोमा दाहालले भनेअनुसारको पैसा पाए प्रहरी स्कुलका प्रिन्सिपल, डीआईजी र अर्का एक व्यक्ति मिलेर पाण्डेलाई स्थायी गरिदिने प्रलोभन दिएको बुझिएको छ ।
प्रहरीले अनुसन्धानको लागि दाहाललाई नियन्त्रणमा लिएको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । आरोप पुष्टि भए ठगी मुद्दा चलाइने उनले बताए । घटनामा अरू व्यक्तिको संलनता बारे पनि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।