
जनकपुरधाम – सिरहामा दुई महिनामा लागूऔषधसहित ३२ जना पक्राउ परेका छन्। चालू आर्थिक वर्षको साउन र भदौ महिनामा जिल्लाको विभिन्न स्थानबाट ३२ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीले जानकारी दिए।
प्रवक्ता बुढाथोकीले दुई महिनामा लागूऔषधसम्बन्धी २१ वटा मुद्दा दर्ता भएकोमा त्यसमध्ये ४ वटा मुद्दाको फछ्र्योट भएको र १७ वटा मुद्दा बाँकी रहेको जानकारी दिए। दुई महिनाको अवधिमा प्रहरीले फेनारगन २ सय ९४ एम्पुल, डाइजेल्याब २ सय ९४, डाइलेक्स डिसी ७ बोतल, नाइट्राभेट ५ हजार ३ सय २६ ट्याब्लेट, नोर्फिम १ सय एम्पुल, गाँजा १५ केजी १४० ग्राम, स्पास्मो प्रोक्सिभन १५ ट्याबलेट, वेनाड्रिन ४ सय ३६ बोतल, ब्राउन सुगर २७ ग्राम ४ सय ९० मिलिग्राम, कोरेक्स १२ बोतल, फेन्सिडल ४ बोतल, रेक्सकोफ १६ बोतल र गाइकोडिन २ बोतल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
त्यस्तै यस अवधिमा विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका १ सय १० जना पक्राउ परेका छन्। पक्राउ परेकाहरुबाट २५ लाख ४७ हजार १ सय ७६ रुपैयाँ राजस्व संकलन गरिएको तथा ४३ वर्ष ११ महिना १३ दिन कैद भुक्तान गराइने प्रवक्ता बुढाथोकीले जानकारी दिए।