विराटगनगर – विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेपनि कैद सजाय र जरिवाना भुक्तान नगरिकन फरार रहेका ११ जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले एकै पटक ११ जनालाई पक्राउ गरेर शुक्रबार जिल्ला अदालत मोरङमा पेस गरेको छ । पक्राउ पर्नेमध्ये १० जना कुटपिट एवं लुटपाट र एक जना सवारी ज्यान मुद्दाका फरार प्रतिवादी रहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका–६ का ५३ वर्षीय रमेश भुजेल, २३ वर्षीय सुरज भुजेल, ५८ वर्षीय उसमान मियाँ, २८ वर्षीय रमजान मियाँ, ४८ वर्षीय अञ्जु खातुन रहेका छन् । त्यस्तै ४८ वर्षीय उवारन खातुन, ३० वर्षीय अब्बास मियाँ, २७ वर्षीय फुच्चे मियाँ, ३१ वर्षीय कैलु मियाँ र ३५ वर्षीय सहजवी खातुन पनि पक्राउ परेका छन् ।
उनीहरुलाई जिल्ला अदालत मोरङले २०७३ साल असार १२ गते कुटपिट एवं लुटपाट मुद्दामा दोषी ठहर गरेको थियो । पाँच वर्षअघिदेखि फरार रहेका सबै जनालाई पक्राउ गरेर अदालतमा बुझाइएको जानकारी डीएसपी श्रेष्ठले दिए ।त्यस्तै सवारी ज्यान मुद्दामा फरार रहेका रंगेली नगरपालिका–२ का ३५ वर्षीय सत्यलाल उरावलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
श्रेष्ठका अनुसार उरावलाई २०७० साल पुस १४ गते मोरङ अदालतले ५ महिना कैद र ५ हजार रूपैयाँ जरिवानाको फैसला गरेको थियो । प्रहरीले पक्राउ गरेर बुझाएपछि अदालतले प्रतिवादीलाई कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ ।