काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल आ–आफ्नो गुट लिएर बसेको बताएका छन् । काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्ड र नेपालले दुईपटक पार्टी विभाजन गरेको आरोप लगाए ।
कम्युनिस्ट एकता हल्लाउन नसक्ने गरी दुई तिहाइ बहुमत पाएको भए पनि केही नेताहरूको ईष्या, स्वार्थले लथालिंग बनाएको ओलीको भनाइ छ ।‘कम्युनिष्ट एकतालाई एक पटक प्रचण्डले पार्टी फुटाए, अर्काे पटक माधवकुमार नेपाल फुटाए’, ओलीले भने, ‘माओवादी केन्द्र वैधानिक रूपमा नाम त छ । केन्द्र त यहाँ छ । प्रचण्ड त आफ्नो गुट लिएर बसेका छन् । माधव नेपाल आफ्नो गुट लिएर बसेका छन् ।’
तर, एमाले अझै एकताबद्ध भएर अघि बढ्ने उनको भनाइ छ । परमादेशबाट होइन अब एमालेले जनादेशबाट सरकार बनाएर देखाउने ओलीको दाबी छ ।उनले माधवकुमार नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थयात्रामा निस्किएको टिप्पणी गरेका छन् । अध्यक्ष ओलीले भने, ‘माधव नेपालले घरमा आगो लगाए, निधारमा खरानी घसे अनि तीर्थयात्रामा निस्किएका छन् ।’देश, जनता र लाखौँ कार्यकर्ताको भविष्यमाथि माधव नेपालले खेलवाड गरेको ओलीको आरोप छ । ‘माधव नेपालले १५ वर्ष पार्टी चलाए, प्रधानमन्त्री बने, अब त जानुपर्ने त कहीँ छैन’, उनले भने, ‘तर, आफ्नो इगोका कारण देश, जनता र कार्यकर्ताको भविष्यमाथि खेलवाड गर्न मिल्छ ?’
माधव नेपालले झुक्याएको र झुक्किएका कार्यकर्ताहरूलाई एमालेमा फर्कन आह्वान गरेका उनले प्रचण्डसँग गएका कार्यकर्तालाई पनि फर्कन आग्रह गरे ।‘तपाईहरू पार्टीको कार्यकर्ता हो कि प्रचण्डको घरेलु कार्यकर्ता हो, माओवादी केन्द्रको नाममा रहेका साथीहरूलाई एमालेमा फर्कन म आह्वान गर्छु’, ओलीले भने ।
कम्युनिस्टको सरकार ढालेर कांग्रेसको नेतृत्वको सरकार बनाएकोप्रति आक्रोश पोख्दै ओलीले भने, ‘मैले केही मन्त्री दिएको थिएँ नि, अहिले हेर्नु त देउवाले प्रचण्ड र माधव नेपाल खोइ मन्त्री दिएको ? प्रचण्डको पछि लागेर के हुन्छ । आउनुस् एकीकृत एमालेमा ।’