बाराबाट नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार निजगढ नगरपालिका वडा नम्बर ८ स्थित तारा इन होटलको कोठाबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपेन्द्र शाहीले जानकारी दिए।
होटलमा केही दिनदेखि नेपाली नक्कली नोटको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले पाँच जनालाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा रौतहट गुजरा नगरपालिकाका २४ वर्षीय सुनिलकुमार राम, ३६ वर्षीय रबिन्द्रकुमार चौधरी, बारा करैयामाई गाउँपालिकाका ३६ वर्षीय विशेश्वरप्रसाद चौधरी, कलैया उपमहानगरपालिकाका २४ वर्षीय सागर शुक्ला र २५ वर्षीय राजु कुशवाहा छन्।
होटलमा प्रहरीले खोजी गरेपछि भाग्न खोज्दा उनीहरू पक्राउ परेका हुन्। उनीहरूबाट एक हजारको २५ थान नोट फेला परेको थियो। साथै होटलमा पार्किङ गरेको एउटा मोटरसाइकल र एउटा स्कार्पियो गाडी पनि बरामद भएको छ।उनीहरूमाथि सोधपुछ गर्दा सुनिलकुमार रामको घरमा नक्कली नोट बनाउने कागजहरू राखिएको भन्ने सूचना प्रहरीले पाएको थियो।त्यसपछि इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनिया रौतहटसँग समन्वय गरी उनको घरमा तलासी लिएको थियो। त्यहाँबाट एक सय वटा थान भएको ९३ गड्डी बरामद भएको छ। सो कागज एक हजार अंकित दरको हो।
प्रहरीले दुई वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। उनीहरूमाथि मुद्रा सम्बन्धी कसूर (खोटा चलन) मुद्दामा बारा जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्ने म्याद अनुमति लिइ थप अनुसन्धान अघि बढाएको छ।