मोरंग – सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङमा भएको सामूहिक हत्यास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान सुरु गरिएको छ । प्रहरीले घटनास्थलमा ‘डग स्निफिङ’ गराएको मादी नगरपालिकामा मेयर विदुर कुमार लिंथेपले जानकारी गराए ।
घटनाको जानकारी पाएलगत्तै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदी सदरमुकाम खाँदबारीबाट घटनास्थल प्रस्थान गर्नुभएको छ । सदरमुकाम खाँदबारीबाट घटनास्थल पुग्नु छ घण्टा लाग्छ । घटनास्थल तेह्रथुम र सङ्खुवासभाको सिमानामा पर्दछ । सोमबार राति अज्ञात समूहले धारिलो हतियार प्रहार गरी मादी–१ का स्थानीयवासी ५८ वर्षीय तेजबहादुर कार्कीसहित छ जनाको हत्या गरेको थियो ।
तेजबहादुरको शव रोडको भित्तामा फेला परेको प्रहरी निरीक्षक खतिवडाले बताउनुभयो । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वतीको शव घरमै फेला परेको छ । तेजबहादुरकी ५२ वर्षीया श्रीमती कमला र ३२ वर्षीया बुहारी रञ्जनाको शव खोल्सामा फेला परेको उहाँले बताउनुभयो ।
त्यस्तै तेजबहादुरका ११ वर्षीय नाति दिपेन र सात वर्षीया नातिनी गोमाको शव खरबारीमा फेला परेको प्रहरीले जनाएको छ । हत्याकाण्डमा तेजबहादुरका बुवा ८५ वर्षीय बौद्धमान भने सकुशल रहेको प्रहरीले जनाएको छ । रञ्जनाका श्रीमान् रमेश कार्की हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको प्रहरी निरीक्षक खतिवडाले जानकारी दिनुभयो ।