मोरङ – गाँजासहित प्रहरी नियन्त्रणमा परेका विराटनगर–११ का भीम कामतको प्रहरी हिरासतमा ज्यान गएको छ । विराटनगर महानगरपालिकाको ३७ वर्षीय कामतलाई शुक्रबार ३ किलो ४ सय ८० ग्राम गाँजासहित मोरङ प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहर नियन्त्रणमा परेका कामतको आइतबार दिउँसो थुनुवा अवस्थामा ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख उपरीक्षक जनार्दन जिसीका अनुसार लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गर्न अदालत लैजाने तयारीका क्रममा कामतको हिरासत कक्षबाहिर रिँगटा लागेर लडेका थिए।
एकाएक बेहोस भएका कामतलाई तत्काल कोसी अस्पताल पुर्याइएको प्रहरी प्रमुख जिसीले जानकारी दिए। कामतको कोसी अस्पतालमा उपचारका क्रममा सवा २ बजे ज्यान गएको उनले बताए।
बेहोस भएर लड्दा कामतको मुखबाट फिँज आएको बताइएको छ। सोही अवस्थामा उनलाई अस्पताल पुर्याइएको थियो। प्रहरीका अनुसार कामत लागुऔषधका कारोबारी र दुर्व्यसनीसमेत थिए।
दुर्व्यसनी भएका कारण हिरासतमा उनले लागुपदार्थ सेवन गर्न नपाउँदा समस्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। प्रहरीले घटनाको अनुसन्धानका क्रममा शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको जनाएको छ।
घटना र मृत्युबारे अस्पतालबाट पूर्ण जानकारी आएपछि मात्र सबै कुरा प्रस्ट हुने प्रहरीको भनाइ छ।