कैलाली – प्रहरीमा भर्ना गरिदिन्छु भन्दै ठगी गरेको अभियोगमा बझाङ मष्टा गाउपालिका–२ बस्ने २५ वर्षीय मनोज कुमार सिंहलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
हालै प्रहरी जवान पदको सम्पूर्ण परीक्षाहरु समाप्त भई अन्तिम नतिजा प्रकाशनको क्रममा रहेको अवस्थामा सिंहले प्रहरी बनाइदिन्छु भन्दै ठगी गरेको प्रहरीले जनाएको छ। प्रहरी बनाइदिन्छु भन्दै ठगी गरिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई कैलाली धनगढी उपमहानगरपालिका–३ चौराहबाट पक्राउ गरेको हो।
सिंहको साथबाट प्रहरी बनाइदिने भन्दै पैसा माग गरी लिएको ६० हजार रुपैयाँको चेक र पीडितलाई फोन गरी धम्काई पैसा तथा चेक नदिए प्रहरीको छनोटबाट फेल गरिदिने भन्ने धम्की र प्रलोभन दिइ फोन गरेको रेकर्ड समेत प्रहरीले बरामद गरेको छ। उनीविरुद्ध ठगी मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।