छोरालाई घाँटी थिचेर हत्या गर्ने सौतनी आमा पुर्पक्षका लागि जेल चलान भएकी छन् । बुबा भने साधारण तारेखमा रिहा भएका हुन् ।
महोत्तरी जिल्ला अदालतको आदेशमा महोत्तरीको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी देवी जेल चलान भएकी हुन् । पति चन्द्रकिशोर साधारण तारेखमा रिहा भएका छन् ।गएको साउन १५गते ५ वर्षीय रितेश यादवको घाँटी थिचेर हत्या गरी परालले छोपेको अवस्थामा शव फेला परेको थियो ।हत्या अभियोगमा सौतेनी आमा रागनी र बुबा चन्द्रकिशोरलाई पक्राउ गरी प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा चलाएको थियो ।स्थानीयका अनुसार चन्द्रकिशोरले एक वर्षअघि शान्तिपुरकी रागिनीसँग दोस्रो विवाह गरेका हुन्। त्यसयता घरमा झैझगडा भइरहेको थियो।
सात वर्षअघि विवाह गरिएकी जेठी रजनी यादवतर्फका जेठा छोरा थिए– ५ वर्षीय रितेशकुमार। कान्छा छोरा ३ वर्षका छन्। घरमा विवाद हुन थालेपछि रजनी दुवै छोरालाई चन्द्रकिशोरको जिम्मा लगाई केही महिनादेखि माइतमा छिन्। बुबा र कान्छी आमाको अपहेलनामा परेका रितेशको सौतेनी आमा रागिनीले घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो ।