
प्रहरीले पर्साबाट सात जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सखुवाप्रसौनी गाउँपालिका-२ का ४० वर्षीय मनोज रानामगर, ३५ वर्षीय अनिल सहनी, ४० वर्षीय किशोर सहनी, ५० वर्षीय भरत सहनी, छिपहरमाई गाउँपालिका-१ का ५२ वर्षीय शेखर महतो र ५१ वर्षीय रामेश्वर कुशवाह छन्। प्रहरीका अनुसार उनीहरूमध्ये महतो र कुशवाह चरेस कारोबारको मुद्दामा फरार थिए।
रानामगर ज्यान मार्ने उद्योग र अन्य सवारी ज्यान मुद्दामा फरार थिए। उनीहरूलाई पोखरिया तथा एकटाँगाबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको पर्सा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। यसैगरी, प्रहरीले अपहरण तथा शरीरबन्धक मुद्दाका फरार वीरगन्ज नगरपालिका-२९ का ४० वर्षीय बुधनराम चमारलाई शनिबार पक्राउ गरेको छ।
२०७३ सालमा अदालतले उनलाई ९ वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना सुनाएयता फरार थिए। भारतीय नागरिक रितेश कुमारलाई अपहरण गरी फिरौती रकम मागेको प्रकरणमा उनीमाथि मुद्दा चलेको थियो।