
पुरातात्विक महत्व भएको बुद्धको मूर्ति बेच्न खोजेको आरोपमा पाँच जना पक्राउ गरेका छन्।
बर्दिया गुलरिया नगरपालिका वडा नम्बर ७ गुलरिया बजारबाट पाँच जनालाई मूर्तिसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए। गुलरिया नगरपालिका वडा नम्बर ७ बस्ने ४० वर्षीय निराजन उप्रेती, मधुवन नगरपालिका वडा नम्बर १ बस्ने ३४ वर्षीय उज्वल रोकाय, वडा नम्बर ९ बस्ने ३४ वर्षीय अमृत राई, ठाकुरबाबा नगरपालिका वडा नम्बर ९ बस्ने ३२ वर्षीय ईश्वरीप्रसाद उपाध्याय र जाजरकोट बारेकोट गाउँपालिका वडा नम्बर २ बस्ने २९ वर्षीय मगबहादुर नेपाली पक्राउ परेका हुन्।
उनीहरूले विजय गेष्ट हाउसमा सयौं वर्ष पुरानो, बहुमूल्य पुरातत्विक महत्व भएको बुद्धको मूर्ति बेच्न लागेको भन्ने सूचना पाएको थियो। सो मूर्ति उनीहरूले करोडौंमा बेच्न लागेको भन्ने खबर पाएको शाहीले बताए।सोही सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई होटलको कोठा नम्बर ३२८ बाट पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले सात किलो ७०२ ग्रामको र ९.५ इञ्चको बुद्धको मूर्ति एउटा बरामद गरेको हो।