
काठमाडौं – काठमाडौंको कीर्तिपुरबाट मोटरसाइकल चोरी गरी भाग्दै गर्दा दुईजना पक्राउ परेका छन् । कीर्तिपुर नगरपालिका– ९, नगाउँस्थित घर अगाडि पार्किङ गरी राखेको स्थानबाट हराएको बा ९४ प ७१६४ नम्बरको पल्सर मोटरसाइकल चोरी गरेको आरोपमा ट्राफिक प्रहरीले उनीहरूलाई पक्राउ गरेका हो ।
पक्राउ पर्नेहरूमा रामेछाप खाडादेवी गाउँपालिका– ७ घर भई हाल काठमाडौँ नारायणटार बस्ने १८ वर्षीय सुन्दर मगर र रामेछाप सुनापती गाउँपालिका– २ घर भई नारायणटार नै बस्ने दिपक सिंजाली मगर रहेका छन् ।
सादा पोसाकमा ट्राफिक प्रहरीको टोली परिचालन गरी विना चाबी स्टार्ट गरेर नम्बर प्लेटसमेत परिवर्तन गरी मोटरसाइकल चलाइरहेको अवस्थामा ती दुवैलाई भक्तपुर सुर्यविनायक नगरपालिका– ९, पलासेबाट नियन्त्रणमा लिन सफल भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले बताए ।
मोटरसाइकल गएराति र्कीर्तिपुर नगरपालिका– ९ नगाउँबाट चोरी भएको थियो । पक्राउ परेको मोटरसाइकलसहित दुवै जनालाई थप अनुसन्धान एवम् कानुनी कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुरमा बुझाइएको ट्राफिक महाशाखाले जनाएको छ ।