सप्तरी – ८४ प्रतिशत नेपालीले सरकारबाट हुने भ्रष्टाचार सबैभन्दा ठूलो समस्या भएको बताएका छन्।
ट्रान्सपरेन्सी इन्टरनेसनलको ‘ग्लोबल करप्सन ब्यारोमिटर एसिया’ प्रतिवेदनअनुसार एसियाली मुलुकमध्ये सबैभन्दा बढी भ्रष्टाचार बढेको देश नेपाल भएको जनाइएको हो। ट्रान्सपरेन्सी इन्टरनेसनलले एसियाका १७ मुलुकमा सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको हो।प्रतिवेदनअनुसार ५८ प्रतिशत नेपालीले गत वर्षको तुलनामा भ्रष्टाचारले उँचाइ लिएको ठान्छन्। २३ प्रतिशतले भ्रष्टाचार हरेक वर्ष उस्तै रहेको र १८ प्रतिशतले भने घटेको बताएका छन्। १२ प्रतिशत नेपालीले सार्वजनिक संस्थामा काम गराए बापत् घुस दिएको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनअनुसार ५० प्रतिशत नेपालीले राष्ट्रपति र प्रधानमन्त्री भ्रष्ट भएको जनाएका छन्।
४३ प्रतिशत नेपालीले सांसद र सरकारी कर्मचारी भ्रष्टाचार गर्ने विश्वास गर्छन्। त्यस्तै ४० प्रतिशत नेपालीले स्थानीय जनप्रतिनिधि भ्रष्ट भएको ठान्छन्। २८ प्रतिशतले भने सुरक्षा निकायमा भ्रष्टाचार हुने बताएका छन्।