लुटपाट गर्ने उद्देश्यले काठमाडौंबाट आफ्नै साथीलाई वीरगञ्ज बोलाई हत्या गरेको खुलेको छ ।
सर्लाही लालबन्दी नगरपालिका–१ घर भई काठमाडौंको गोंगबु बस्ने वर्ष २७ का सुजन भन्ने ज्ञानु पाख्रिनलाई आफ्नै साथीहरुले वीरगञ्ज बोलाएर हत्या गरेको खुलेको हो ।गएको साउन १३ गते बीरगञ्ज बोलाए पाख्रिनलाई साथीहरुले सुनको सिक्री लुटपाट गरी भोलिपल्ट हत्या गरेको अवस्थामा शव बरामद भएको थियो । सो हत्या घटनामा प्रहरीले पाख्रिनका साथीहरु वीरगञ्ज नगरपालिका–७ रामटोलका राहुल महर्जन, रामटोलकै विक्की भन्ने दिप लामा र बारा फेटा गाउँपालिका–३ का धनन्जय रजक रहेका छन् ।त्यस्तै घटनामा संलग्न भारत विहारका रवि सर्साफ फरार रहेको प्रहरीले जनाएको छ ।
पाख्रिनलाई मादक पदार्थ सेवन गराई त्यसको भोलिपल्ट बिहान साँढे एक बजे थप बीयर किन्न जाने बहानामा रामटोलस्थित एकान्त स्थानको खाली जग्गामा लगेका थिए । त्यसपछि पाख्रिनको घाँटीमा लक लगाई घाँटी अँठ्याई हत्या गरेका थिए । मृतकको सुनको सिक्री, सुनको औँठी, घडी र नगद दश हजार लुटपाट गरेका थिए । त्यसबेला नियमित गस्तीमा घटनास्थल नजिक पुगेको प्रहरी टोलीले निजहरू मध्ये ३ जनालाई तत्काल नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको थियो ।
उनीहरुमाथि थप अनुसन्धान गर्दा दीप लामाले घटनास्थल नजिकै नालामा लुकाएको मृतकको सुनको सिक्रीको टुक्रा बरामद भएको र उनीहरुले पाख्रिनको हत्या गरेको पुष्टि भएको प्रहरीले जनाएको छ । उनीहरुमाथि कर्तव्य ज्यान सम्बन्धि कसुरमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।