सप्तरी – सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर ३ का जेष्ठ नगरिकहरुले सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन ।
आर्थिक बर्ष समाप्त हुदा समेत सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै उनीहरुले गुनासो गरेका हुन । शम्भुनाथ नगरपालिका वडा नम्बर ३ कि बेचनी मियाँले ७ महिना सम्मपनि भत्ता नपाएको बताईन । भत्ता लिन पटकपटक लुम्बिनी बिकास बैंक रुपनी पुगेपनी एक दुई दिन पछि आउनु भनेर रित्तो हात फर्काई दिएको उनले जानकारी दिईन ।
भत्ता लिन जेठ महिना देखि नै धेरै पल्ट बैकमा सम्पर्क गरे, बेचनीले भनिन, तपाईको पैसा जम्मा भएको छैन पछि आउनु भनेर असारमा पनि बैंक गए तर पैसा पाईएन । बैकमा पैसा नदिएपछि वडा अध्यक्ष शत्रुधन प्रसाद चौधरीलाई जानकारी दिदा भत्ता पाउने आश्वासन मात्र पाएको जेष्ठ नागरिक लडुवती मियाँले गुनासो गरिन । वडा अध्यक्षले बैंक जानु भन्ने र बैंकले वडामा सम्पर्क गर्नु भनेर दुख मात्र दिने गरेको मियाँले दुखेसो सुनाईन ।
भत्ता नपाउदा औधषी उपचार र खाना समस्या भएको उनले बताईन । रोजगारी नहुदा आम्दानी कतैबाट छैन उनले भनिन, मज्दुरीमा खट्न पनि सकिदैन, उनले थपिन, भत्ता पाउँदा औषधि उपचार र थोरै चियापान खर्च चल्थ्यो त्यो पनि ७ महिना देखि हात परेको छैन । शम्भुनाथ नगरपालिका ३ कि खातुन मियाँले भत्ताका लागि बैक र वडा कार्यालय धाउदा- धाउदै हैरान भएको सुनाईन । उनले भत्ता नपाईने हो कि भन्दै आशंका समेत व्यक्त गरिन । भत्ता बुझ्न लुम्बिनी बिकास बैक पुगेका सोही ठाउँका जेष्ठ नागारिक कुशेश्वर मोची रित्तो हात फर्किएका छ्न ।
बैंकमा भेटिएका मोचीले खातामा पैसा जम्मा गर्न बाँकी रहेको भन्दै बैकले घर पठाई दिएको जानकारी दिए । शम्भुनाथ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष शत्रुधन चौधरीले सबै सेवाग्राहीहरुले सामाजिक सुरक्षा भत्ता पाउने बताए । वडाबाट सम्पुर्ण प्रक्रिया पुर्याएर लाभग्राहीहरुलाई सम्बन्धित ठाउँमा सिफारिस गरिसकेको बताउदै बैककिङ्ग प्रणालीले ३ नम्बर वडामा मात्र नभएर नगरपालिका भरी नै समस्या रहेको उनले जानकारी दिए । लुम्बिनी बिकास बैक रुपनी शाखाका म्यानेजर मान बहादुर चौधरीले कोष तथा लेखा परिक्षण कार्यालयबाट सामाजिक सुरक्षा बापतको रकम बैकमा जम्मा भईसकेको बताए ।
कोल्जिङ्गका समय परेकाले सेवाग्राहीहरुको चाँपले सामाजिक सुरक्षा भत्ता लाभग्रहीहरुलाई एकैपटक दिन नसकिएको उनले बताए । रुपनी गाउँपालिकाका सामाजिक सुरक्षा भत्ता बितरण भईरहेको जानकारी दिदै म्यानेजर चौधरीले शम्भुनाथका लाभग्राहीहरुलाई भदौबाट भत्ता उपलब्ध गराउने बताए ।