सप्तरी – मोरङका पूर्व दक्षिण सीमान्त क्षेत्रमा पर्ने नाकाहरूबाट अनधिकृत निकासी–पैठारीमा वृद्धि भएसँगै तस्करी हुने माल वस्तुको मूल्यमा पनि वृद्धि भएको छ।
प्रहरी–प्रशासनको मौन स्वीकृतिमा तस्करहरूले मोरङका छोटी नाकाहरूबाट तस्करीको लाइन खोलेसँगै तस्करी गरिने मुख्य वस्तुको मूल्यवृद्धि भएको हो। विराटनगरको श्री हनुमान ट्रेडर्सका सञ्चालक विजय अग्रवालका अनुसार भदौ महिनामा प्रति किलोग्राम ७० देखि ८० रुपैयाँ पर्ने हरियो केराउको मूल्य अहिले १ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै प्रति किलोग्राम ४ सय ५० रुपैयाँमा पाइने मरिचको मूल्य ५ सय ३० रुपैयाँ भएको छ।‘छोकडाको मूल्य प्रति किलोग्राम ७५ देखि ८० रुपैयाँ थियो’, व्यवसायी विजयले भने, ‘अहिलेको मूल्य प्रति किलोग्राम १ सय १० रुपैयाँ हो। त्यस्तै गुट्खामा प्रयोग गरिने नराम्रो सुपारीको मूल्य प्रति किलोग्राम २ सय ५० बाट ४ सय र पानमा हालिने वा त्यत्तिकै चपाइने राम्रो खालको सुपारीको मूल्य प्रति किलोग्राम ३ सय ५० बाट ५ सय रुपैयाँ पुगेको छ।’
उनले थपे, ‘बिजनेस नै यस्तै छ। लाइन खुल्यो भने माल पनि विक्री हुन्छ र मूल्य पनि बढ्छ। लाइन बन्द भयो भने मन्दी आउँछ।’मोरङको पूर्व दक्षिण सीमान्त क्षेत्रमा पर्ने सुनवर्षी नगरपालिकाको सिक्टी र बडरंगा नाका, रतुवामाई नगरपालिकाको महादेव नाका, रङ्गेली नगरपालिको चेतरा र धनपालथान गाउँपालिकाको मायागन्ज नाका अहिले तस्करीका मुख्य द्वार भएका छन्।यिनै नाका भएर नेपालबाट तस्करहरूले मरीच, केराउ, सुपारी र छोकडाको अवैध निकासी गरिरहेका छन्। त्यस्तै पारिबाट खाने तेल, रजनीगन्धा र तुलसी जर्दा, पास्ता, बिस्कुट र चिनी लगायतका खाद्य र किराना सामग्रीको अवैध पैठारी भइरहेको छ।विराटनगर वरपरका नाकामा सबैको ध्यान र पहुँच पुग्ने हुँदा अनधिकृत व्यवसायीले प्रहरी–प्रशासनको संरक्षणमा हतपत कोही नपुग्ने गाउँतिरका नाका रोजेका हुन। उनीहरूले रातिको ११ देखि बिहान ३ बजेसम्मलाई तस्करी धन्दाको मुख्य समय बनाएका छन्।
पास्ता उद्योगी विकास बेगवानीले चैतको लकडाउनपछि भदौ महिनासम्म पास्ताको उत्पादन र विक्री दुवै राम्रो भएको जानकारी दिए। उनले यसबिचमा पास्ताको मूल्यवृद्धि पनि राम्रो भएको बताए। तर असोजलागेपछि तस्करी बढेसँगै उत्पादन २० प्रतिशतले खस्किएको छ। त्यस्तै प्रति किलोग्राम १ सय ५ रुपैयाँ पुगिसकेको पास्ताको मूल्य अहिले ८० रुपैयाँमा झरेको छ।तेल उद्योगी एवम् श्याम एग्रोका सञ्चालक राजु राठीले पनि तोरीको तेलको विक्री घटेको उल्लेख गरे। राठीले लकडाउनका समयमा मोरङका रानी, कटहरी, नयाँ बजार, सोराभाग, रङ्गेली, डाइनियाँ र रतुवामाईजस्ता सीमा क्षेत्रका बजारमा पनि नेपालमै उत्पादित तोरीको तेल विक्री भएको स्पष्ट पारे।‘तस्करी कति बढेको छ भने अहिले त्यहाँका पसलमा ‘दावत’ लगायतका भारतीय ब्रान्डका तोरीका तेल सजिलै देख्न पाइन्छ’, उद्योगी राठीको भनाइ थियो, ‘हामीले तस्करी नियन्त्रण गर्न प्रहरी–प्रशासनसमक्ष धेरै पटक अनुरोध गर्यौँ, तर हाम्रो अनुरोध अरण्य–रोदन साबित भयो।’यही मङ्सिर ७ गते आइतबार विराटनगर महानगरसित जोडिएको मटेरुवा नाकामा बिहान ४ बजे प्रहरीले तस्करको समूहलाई लक्षित गर्दै हवाई फायर गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले नाकाबाट अवैध सामग्री लिएर आउनेसित प्रहरीले सामान खोस्दा घम्साघम्सी परेपछि हवाई फायर गर्नुपरेको जनाएको छ। त्यस क्रममा प्रहरीले ३३ वर्षकी रबिना खातुन नामकी एक युवतीलाई पक्राउ समेत गरेको छ।तर सम्बद्ध स्रोतका अनुसार मटेरुवा नाकामा प्रहरीले हवाई फायर गर्नुको उद्देश्य आफू तस्करीविरुद्ध रहेको प्रोपोगन्डा फैलाउन मात्र हो। यथार्थमा मटेरुवा नाकामा कडाइ गरेको देखाएर प्रहरीले जिल्लाको पूर्व दक्षिण क्षेत्रलाई खोलिदिएको छ ।अवैध निकासी र पैठारी गर्नेहरूले ट्याक्टर, मोटरसाइकल र साइकलको प्रयोग गरेर ओसार–पसार गरिरहेका छन् ।प्रदेश नम्बर १ को प्रहरी कार्यालयका डिआइजी ईश्वरबाबु कार्कीले सीमा क्षेत्रमा अत्यन्त कडाइ गरिएको बता ।
‘त्यहाँ छिरिक्क केही भयो भने मलाई तुरुन्त थाहा हुन्छ’, डिआइजी कार्कीले भने, ‘नाकामा अत्यन्त कडा गर्न हामीले निर्देशन दिएका छौँ । ड्युटीमा रहेको प्रहरीले निर्देशन विपरीत मरमोलाहिजा गरेमा शून्य सहनशीलता अपनाउने चेतावनी पनि दिएका छौँ।’