काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता माधवकुमार नेपालले अदालतको निर्णय प्रभावित गर्न खोजेको आरोप लगाएका छन् । थापाले सामाजिक सञ्जालमार्फत आरोप लगाएका हुन् ।
सोमबार बिहान नेता नेपालले हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित रहेको भन्दै आपत्ति जनाएका थिए । त्यसलगत्तै थापाले लेखे ‘एकाबिहानै आएको टिप्पणी अदालतको निर्णय प्रभावित गर्न र देउवालाई आश्वस्त पार्न लेखेको देखें मैले त ! कसो होला ? फाटेको जालोले छेकेको !”मैले देउवा महोदयलाई लेखेंको थिएँ, जवाफचाहिँ अन्यत्रबाट आएछ, किन होला ? तथ्यमा उभिएर र सम्पूर्ण चिज हेरेर स्पष्ट धारणा बनाउनु राम्रो होला !’ थापाले लेखेका छन् ।
नेता नेपालले हस्ताक्षरमा दृढ रहेको बताएका छन् । सोमबार बिहानै सामाजिक सञ्जालमा लेख्दै उनले अदालतमा विचाराधिन मुद्धामा एमालेका २३ सांसद एकै ठाउँमा रहेको उल्लेख गरेका छन् । ‘हिजो राति नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ ।
यो व्याख्या गलत र अस्वीकार्य छ’ नेता नेपालले लेखेका छन् ‘अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने कुरा स्पष्ट पार्दै सर्वोच्च अदालतमा विचाराधिन मुद्दामा निवेदक रहेका नेकपा (एमाले)का २३ जना सांसदहरू सबै एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरमा दृढ रहेको कुरा स्पष्ट पार्दछु ।’