गण्डकी प्रदेशसभाको बैठक पुनः स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधपछि बैठक पुनः स्थगित गरिएको हो ।
बजेटको बिषयलाई लिएर एमालेले बैठक अवरुद्ध गरेपछि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको बैठक २ बजे शुरु गरिएको थियो । तर, बैठक शुरु हुनासाथ एमालेले पुनः अवरुद्ध गरेपछि सोमबार बिहान ११ बजे सम्मका लागि बैठक स्थगित गरिएको हो । सभामुख नेत्रनाथ अधिकारीले एमालेको अवरोधपछि भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिए ।प्रदेश सरकारले गैरकानुनी रुपमा कार्यकर्ता पोस्नका लागि करोडौं रुपैया रकमान्तर गरेकाले वास्तविक यथार्थ बाहिर नल्याउँदा सम्म बैठक चल्न नदिने एमालेका सांसद रामशरण बस्नेतले बताए । उनले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएको योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए ।सांसद बस्नेतले सरकारले पोखराको एउटै वडामा करोडौं रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे । उनले सरकारले बजेटसमेत ल्याउन नसकेको बताउँदै आर्थिक ऐन, सार्वजानिक खरिद ऐन–नियमावली अनुसार बजेट नल्याइएको बताए ।
सरकारले बहुवर्षीय ठेक्का लगाएका योजना हटाएर कार्यकर्ता रिझाउन रकमान्तर गरेर बजेट बाँडेको उनले आरोप लगाए । सांसद बस्नेतले कति रकम रकमान्तर गरेको हो भन्नेबारे नखुलाएको र के आधारमा योजना छनोट गरिएका हुन् भन्ने बारेमा समेत सरकार मौन रहेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताए ।