सप्तरी – खोटाङका १० मध्ये ६ स्थानीय तहले विद्यालय सञ्चालन गरेका छन् । शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि र केन्द्र सरकारले पालिकालाई विद्यालय चलाउन अनुमति दिएपछि जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन सुरु भएको हो ।
स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि हाल खोटाङका कतिपय स्थानीय तहले पठनपाठन सुचारु गराइसकेका छन् भने कतिपय सुरु गर्ने तयारीमा जुटेका छन् ।लामो समयपछि विद्यालय खुलेपछि विद्यार्थीमा कोरोना संक्रमणको जोखिम भने बढेको छ । खोटाङका १० स्थानीय तहमध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सोमबारदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खुलाएको छ ।विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विधि, थर्मल गन चलाउने सीपबारे विद्यालयले तोकेका फोकल पर्सन (शिक्षक–शिक्षिका) लाई राखेर सोमबार र मंगलबारका लागि तालिम आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढीका नगरप्रमुख दीपनारायण रिजालले बताए । १५ वडा रहेको नगरपालिकामा ९४ सामुदायिक र ११ निजी विद्यालय सञ्चालनमा छन् ।दिक्तेल रुपाकोट मझुवागढीले विद्यालयलाई बिहानको प्रार्थना नगर्ने, सकेसम्म एउटा बेञ्चमा दुई विद्यार्थी नराख्ने, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउने, टिफिन नगर्ने, सामाजिक दूरी कायम गरेर बस्ने, प्रत्येक विद्यालयलाई थर्मल गन उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।यस्तै, विद्यार्थीलाई ज्वरो आए निको नभएसम्म विद्यालय नआउने व्यवस्थाका लागि फोकल पर्सन तोक्ने, घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातावरण बनाउने, पाठ्यपुस्तक, कापीकलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिनेलगायतका २९ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिइएको छ ।
हलेसी तुवाचुङ नगरपालिकाले अवरुद्ध विद्यालय सुचारु गराउने मिति तय गरेको छैन । तर, पठनपाठनलाई नियमित गराउन अन्तरिक तयारी गरिरहेको जनाएको छ ।पठनपाठनलाई सुरक्षित तरिकाले सुचारु गराउन भौतिक तथा शैक्षिक वातावरण निर्माण गर्न विद्यालयलाई निर्देशन दिइएको नगरप्रमुख इवन राईले बताए । हलेसी तुवाचुङमा ८८ सामुदायिक र चार निजी विद्यालय सञ्चालनमा छन् ।जिल्लाको रावाबेंसी गाउँपालिकाले कक्षामा न्यून संख्यामा विद्यार्थी राखेर ३ मंसिरदेखि नै पठनपाठन सुचारु गराएको छ । पठनपाठनलाई थप प्रभावकारी बनाउन सोमबार शिक्षा समितिको बैठक बोलाइएको गाउँपालिका अध्यक्ष लीलानाथ निरौलाले जानकारी दिए । उनका अनुसार पढनपाढनलाई थप व्यवस्थित बनाउन सोमवार पालिकास्तरीय सर्वपक्षीय बैठक बसेको छ । रावाबेंसीमा २८ सामुदायिक विद्यालय छन् ।
ऐंसेलुखर्क गाउँपालिकाले आइतबारदेखि विद्यालय खुलाएको छ । विद्यार्थी संख्या बढी भएको एेंसेलुखर्क र राखाबाँदेलमा भने कक्षा र विद्यार्थीको रोल नम्बरलाई नै जोरबिजोर प्रणाली अपनाएर पठनपाठन सुचारु गराइएको गाउँपालिका अध्यक्ष विश्वनाथ निरौलाले बताए । ऐंसेलुखर्कमा ४३ सामुदायिक र एक निजी विद्यालय सञ्चालनमा छन् ।केपीलासगढी गाउँपालिकाले पनि आइतबारदेखि नै विद्यालय सुचारु गराएको छ । ५ मंसिरको निर्णयअनुसार केपीलासगढीमा विद्यालय खुलाइएको गाउँपालिका अध्यक्ष कृष्णकुमार राईले बताए । सो गाउँपालिकामा ३७ सामुदायिक र दुई निजी विद्यालय छन् ।दिप्रुङ चुइचुम्मा गाउँपालिकाले कोरोना कहरकै बीचमा पनि पठनपाठन सुचारु गराउने प्रयास गरेको थियो । असार मसान्त बित्दासमेत कोभिड–१९ को असर नघट्दा गाउँपालिकाले गत ७ साउनदेखि ३ भदौसम्म गाउँटोलमै सिकाइ सहजीकरणको व्यवस्था मिलाएको थियो ।
कोरोना संक्रमण बढिरहेको तथा स्वास्थ्य संकट निम्तिने खतरालाई दृष्टिगत गरेर सिकाइ सहजीकरण रोकेको गाउँपालिकाले पुनः ११ असोजदेखि पढाइ सुरु गरेको छ । हाल गाउँपालिकाभरका विद्यालयमा सामाजिक दूरी कायम गरेर पठनपाठन भइरहेको दिप्रुङ चुइचुम्माका अध्यक्ष भूपेन्द्र राईले बताए । दिप्रुङ चुइचुम्मामा ४८ सामुदायिक र दुई निजी विद्यालय छन् ।जन्तेढुंगा गाउँपालिकाले सोमबारदेखि नै विद्यालय सुचारु गराएको छ । विद्यार्थीको चापका आधारमा सिफ्ट बनाएर भौतिक दूरी कायम गर्दै मास्क अनिवार्य लगाउने व्यवस्था गरी पठनपाठन सुचारु गराइएको गाउँपालिका अध्यक्ष शंकर राईले जानकारी दिए । जन्तेढुंगामा ३६ सामुदायिक र एक निजी विद्यालय छन् ।विद्यालय सुचारु गराउने विषयमा खोटेहाङ गाउँपालिकाले बैठक बोलाएको छ । अवरुद्ध विद्यालयको पठनपाठन गर्ने/नगर्ने निर्णय कार्यपालिका बैठकबाट फुकाइने गाउँपालिका अध्यक्ष प्रदीप राईले सुनाए । खोटेहाङमा ४९ सामुदायिक र दुई निजी विद्यालय सञ्चालनमा छन् ।साकेला गाउँपालिकाले पनि पठनपाठन सुचारु गराउने तयारी गरिरहेको छ । वैकल्पिक सिकाइ सहजीकरणका लागि विद्यालयलाई कार्ययोजना पेस गर्न भनिएको तथा सोही कार्ययोजनाका आधारमा कक्षा चलाउने गाउँपालिकाको तयारी छ ।आधारभूत तहको कक्षालाई नियमित गर्ने तर मावि तहको पठनपाठनमा आलोपालो विधि अपनाउने तयारी गरिएको साकेला गाउँपालिकाका अध्यक्ष अर्जुन खड्काले जानकारी दिए ।कक्षा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ । साकेलामा २८ सामुदायिक एक निजी विद्यालय छन् ।
बराहपोखरी गाउँपालिकाले ११ मंसिरदेखि विद्यालयमा नियमित पठनपाठन सुचारु गराउने तयारी गरेको छ । कक्षा सञ्चालनका क्रममा सामाजिक दूरी कायम गरिने गाउँपालिकाकी उपाध्यक्ष गोमा मगरले बताइन् । बराहपोखरीमा ३५ सामुदायिक विद्यालय सञ्चालनमा छन् ।