
धनगढी – कैलालीमा एक सय २० ग्राम सुनसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र कैलालीबाट खटिएको संयुक्त प्रहरी टोलीले अत्तरियाबाट सुनसहित उनीहरुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेम शाहीले जानकारी दिए ।पक्राउ पर्नेमा डडेल्धुराको अमरगढी नगरपालिका–५ का ३० वर्षीय सुरज घताने, १८ वर्षीय विशाल जाग्री र २० वर्षीय महेश साकी रहेको प्रहरी नायब उपरीक्षक शाहीले अनलाइनखबरलाई बताए ।
उनका अनुसार पक्राउ परेका घताने सुन व्यवसायीसमेत हुन् । विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरुसँग सुन खरिद गरेको बिल फेला नपरेपछि अनुसन्धानका लागि भन्दै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालयले पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीको जिम्मा लगाएको जनाएको छ ।