
औषधि व्यवसायीको गोदाममा भरिएका ५० र खाली ११ गरी ६१ सिलिन्डर भेटिएको छ। धनगढीको अमित मेडिसिन डिस्टीब्युटर्सले सिलिन्डर लुकाएको सूचना पाएपछि प्रशासनको टोलीले बुधबार गोदाममा छापा मारेको थियो।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सूचनाका आधारमा छापा मारेको बताए। जिल्ला प्रशासन कार्यालय कैलालीका शाखा अधिकृत यादव भण्डारी, वाणिज्य कार्यालय कैलालीका प्रमुख कमल पुन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि अनुगमनमा गएका थिए। अमित मेडिसिनका सञ्चालक दुश्यन्त बस्नेतले कुनै पनि कागजात पेस नगरेको वाणिज्य कार्यालय प्रमुख पुनले बताए। ‘बिक्री गरेको बिल छैन। हिजोसम्म ६ सय ५० सिलिन्डर लुकाएको गुनासो आएको थियो। बिहान छापा हान्दा ६१ मात्रै फेला परेका छन्। कागजात हेर्दा बिक्री गरेको, चलान गरेको कुनै पनि रेकर्ड भेटिएन,’ उनले भने।
बस्नेतले डल्केबर ग्यास उद्योगबाट केही दिनयता २ सय ५० सिलिन्डर किनेको स्वीकार गरेका छन। उनले २५ हजारका दरले किनिएका अक्सिजन भरिएका सिलिन्डर बजारमा ४० हजारमा बिक्री गरिरहेको खुलेको छ।