
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना नियन्त्रणमा सरकारको गैरजिम्मेवारी भर्त्सनायोग्य रहेको बताएका छन्।
शुक्रबार आफ्नै निवास बूढानीलकण्ठमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कोरोना नियन्त्रण गर्न नसकेको बताए।
देउवाले कारोना संक्रमको यस्तो अवस्था आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता र अकर्मन्यताले काम गरेको आरोप लगाएका छन्। उनले कोरोना संक्रमणमा सरकार गम्भीर नहुँदा जनताले सास्ती भोगिरहेको बताए।
‘यस्तो अवस्था आउनुमा सरकारको चरम लापरवाही, असंवेदनशीलता, अकर्मन्यता पनि जिम्मेवार छ। यो सरकार न विगतका गल्तिबाट सिक्छ, न अन्य सरोकारवालाले दिएको सल्लाह सुझावलाई आत्मसाथ गर्छ’ देउवाले भने, ‘अधुरा काम पूरा भएको भन्दै उद्घाटन शिलान्यासमा गरेर भीडभाड र तडभडकमा केन्द्रित छ।’
सरकारले संक्रमण कम गर्ने ठोस योजना नल्याएर लकडाउन गरेको देउवाले टिप्पणी गरे। कोरोना संक्रमितको संख्या बढ्दै जाँदा आईसीयू र भेन्टिलेटरको तत्काल आवश्यक भएकाले त्यसमा लाग्न देउवाले आग्रह गरे।