
सिकार खेल्ने क्रममा गोली लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपालिका–३ बस्ने ३२ वर्षीय हस्तबहादुर राई रहेका छन् ।
गत वैशाख ९ गते राईसहित सोही स्थान बस्ने ३७ वर्षीय गजेन्द्र राई र २६ वर्षीय रुबिन लिम्बु घरबाट बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ सिकार खेल्न गएका थिए । रातको अन्दाजी ९ बजे सिकार खेल्न गएका उनीहरुमध्ये गजेन्द्र राईले प्रहार गरेको बन्दुकको गोली लागेर हस्तबहादुरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङका अनुसार राईको दाहिने कुममा गोली लागेर मृत अवस्थामा छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय वेलबारीबाट प्रहरी टोली खटिएको थियो । प्रहरीले घटनास्थलबाट भरुवा बन्दुक एक थान बरामद गरेको छ ।
प्रहरीले गजेन्द्र राई र रूविन लिम्बुलाई पक्राउ गरी ज्यान सम्वन्धी कसुर र हातहतियार खरखजाना कसुरमा म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।