
काठमाडौं – कोरोना भाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकालगायत नेपालगञ्ज, वीरगञ्जलगायतका जिल्लामा रहेका अस्पतालमा शैया अभाव हुन थालेको छ ।
दैनिक संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा शैया अभाव हुन थालेको हो । अस्पतालहरुमा पर्याप्त अक्सिजनको समेत अभाव हुन थालेको छ ।यही वैशाख ३ गते ९ सय संक्रमित भेटिएकोमा हिजोसम्म करिब तीनगुणा २६ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।अहिलेको कोभिड–१९ को भाइरस युके भेरियन्ट र डबल भेरियन्ट रहेकोले संक्रमण सार्न सक्ने अत्यधिक क्षमता छ ।
अहिलेको कोभिड–१९ को नयाँ स्वरुपले एक जनाबाट एक घण्टामा ६०–७० जनामा संक्रमण सार्न सक्छ ।भाइरसले संक्रमण लागेको चार–पाँच दिनमा नै आक्रमण गर्ने खालको रहेको चिकित्सकहरु बताउँछन् ।अहिले ५० वर्षमुनिका मानिसलाई पनि बढी संक्रमण देखिएको छ । नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।
५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर, बाँके र रुपन्देही छन् ।संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ सय ३६ पुगेको छ ।