
वीरगन्ज – वीरगन्जमा कोरोना संक्रमण दर ५० प्रतिशतले बढिरहेको भएपनि नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाइ रहेका छैनन्। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा दिनहुँ गरिदै आएको परीक्षणमा परीक्षण गराएकामध्ये आधाभन्दा बढीमा संक्रमण भेटिने गरेको छ।
मङगलबार राति पनि १ सय ४० जनाको स्वाब परीक्षण गर्दा परीक्षण गरिएकामध्ये ६५ प्रतिशतमा अर्थात ९१ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये पर्सा जिल्लाका मात्रै ७६ जना छन्। तीमध्ये वीरगन्ज महानगरपालिकाका मात्रै ६८ जना हुन्।यस्तै बाराका ९ जना, सर्लाहीका ३ जना, रौतहट, सप्तरी र मकवानपुर १/१ जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए।
यस्तै गत सोमबार बेलुकी पनि १४१ जनाको परीक्षण गर्दा ५५ प्रतिशत अर्थात ७८ जनामा संक्रमण भेटिएको थियो। आइतबार राति ९६ जनाको पीसीआर परीक्षण गर्दा ६३.५४ प्रतिशतमा अर्थात ६१ जनामा संक्रमण पुष्टि भएको थियो। शनिबार बेलुकी ९० जनाको परीक्षण गरिँदा ४५ जनामा र शुक्रबार ९४ जनाको परीक्षण हुँदा ५७ जनामा संक्रमण भेटिएको थियो। बिहीबार ७८ जनाको परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको थियो।नारायणी अस्पतालका डाक्टर उदयनारायण सिंहले वीरगन्जमा दिनहुँ देखिएको संक्रमण दरले यहाँको अवस्था भयावह बन्दै गएको बताए। ‘संक्रमणको पहिलो लहरका बेला वीरगन्जमा संक्रमण दर २० देखि २५ प्रतिशत मात्रै थियो’ , उनले भने ,‘तर अहिले ५० प्रतिशतभन्दा बढी नै छ, यसले अवस्था भयावह रहेको पुष्टि गर्दैछ।’संक्रमण बढ्दै गएको भएपनि नागरिकमा सचेतना भने नदेखिएकाले यसले झन जोखिम निम्त्याइ रहेको डाक्टर सिंहको भनाई छ। ‘बजारमा मानिसको भीडभाड कम भएको छैन, तरकारी बजारमा त मान्छेको ठेलामठेल भीड भइ नै रहेको छ, उनले भने ,‘ अवस्था भयावह भइसक्यो तै पनि मानिसले मास्क लगाउन अटेरी गरिरहेका छन्। ‘
नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर दासले अहिले कोभिडको कडा लक्षण भएकाहरु मात्रै परीक्षण गर्न आइरहेको बताए। तर सामान्य लक्षण भएका कोभिडका शंकास्पद बिरामीहरु भने परिक्षण गराउन नआइ गाँउघरमै घुलमिल गरेर बसेकाले सुमदायमा संक्रमण तीब्र गतिमा फैलिरहेको बताए। यसका साथै अहिले संक्रमण पुष्टि भएकाहरुको कन्टयाक्ट ट्रेसिङ पनि नभएकाले यसले पनि समुदायमा संक्रमण झन फैलिरहेको उनले बताए।
मास्क नलगाउनेलाई समातेर सय रुपैयाँ कारवाही
बजारमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको देखिएपछि स्थानीय प्रशासनले गत सोमबारदेखि सडकमा मास्क नलगाइ हिड्नेलाई नियन्त्रणमा लिएर कारवाही गर्न थालेको छ। स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले चोक चोकमा मास्क नलगाएकाहरुलाइ नियन्त्रणमा लिएर १ सय रुपैयाँ जरिवाना तिराएर १ थान मास्क दिएर छाड्ने गरेको छ।
सोमबार ४ सय ४२ जना र मङगलबार २ सय २९ जनालाइ कार्वाही गरि जरिवाना तिराइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। बिना मास्क घर बाहिर निस्किने प्रवृतिलाई निरुत्साहित गर्न यो अभियान शुरु गरेको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताए।
११ दिनमा ४ सय ८१ संक्रमित
वीरगन्जमा पछिल्लो ११ दिनमा ४ सय ८१ संक्रमित थपिएका छन्।नारायणी अस्पतालमा चैत २७ देखि बैशाख ७ गतेसम्म गरिएको ९ सय ९ जनाको परीक्षणमा ४ सय ८१ जनामा संक्रमण भेटिएको हो।
कोरोनाको दोस्रो लहर शुरु भए यता वीरगन्जमा ६ जना संक्रमितको मृत्यु भइसकेको छ। वीरगन्जको नारायणी अस्पतालमा ४ जना र नारायणी बयोधा अस्पतालमा २ जनाको मृत्यु भएको डाक्टर दासले बताए। मृत्यु हुने ६ जनामा पर्साका ५ जना र बाराका १ जना हुन्।