
काठमाडौं – सरकारले सहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा वैशाखभर विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले वैशाखभर सार्वजनिक तथा निजी विद्यालय बन्द गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले जानकारी दिइन् ।त्यस्तै, रात्रिकालिन व्यवसाय, सिनेमा हल, डान्सबार, क्लब, दोहोरी साँझ, सभा, जुलुस, दर्शकसहितको रंगशालामा हुने खेलकुद, जिमखाना, पार्टी प्यालेस, स्विमिङ पुल, हाट बजारहरु जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न कठिन हुने भएकाले २०७८ वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय भएको हो ।
यातायातसहित सार्वजनिक स्थानमा मापदण्ड बनाएर सञ्चालन गर्न सरकारले आजै राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।बैठकले चालु हिउँदे अधिवेशन आज दिउँसो १ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।