दाङ – दाङको तुलसीपुरमा थप सातजनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा सातजनामा कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।उनका अनुसार तुलसीपुर–२ का ४२ र ५५ वर्षीय पुरुष, तुलसीपुर–५ की ३६ वर्षीया महिला, तुलसीपुर–७ का ६० वर्षीय पुरुष र २० वर्षीया महिला, तुलसीपुर–९ का २५ वर्षीय पुरुष र तुलसीपुर–१७ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
सात संक्रमितमध्ये एकजना नेपालगन्जको आइसोलेसनमा भर्ना भएका छन् । दुई महिला र एक पुरुष कोरोना अस्पताल बेलझुन्डीको आइसोलेसनमा रहेका छन् । अन्य संक्रमित होम आइसोलेसनमा बसेको केसीले बताए ।
योसँगै तुलसीपुरमा कोरोनाका नौजना सक्रिय संक्रमित रहेका छन् । यहाँ कोरोनाका कारण हालसम्म २२ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको जोखिम पुनः बढ्दै जान थालेकोले सबैमा जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन फोकल पर्सन केसीले अनुरोध गरेका छन् ।