काठमाडौं– नेपालमा कोरोना भाइरसको दोस्रो चरणको लहर आउने सम्भावना देखिएको छ ।
पछिल्लो एक सातामा कोरोना भाइरसका नयाँ संक्रमित हुनेहरुको संख्या ४० प्रतिशतले वृद्धि भएको छ ।
पत्रपत्रिकाबाट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्रमा कोरोना संक्रमण वृद्धि हुँदा त्यसको असर नेपालमा परेको जनाइएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका चिकित्सक डा. बिराज कर्माचार्यका अनुसार पछिल्लो तीन चार दिनदेखिको ट्रेन्डले कोरोना भाइरसको संक्रमण बढ्दै गएको र यसले दोस्रो लहर आउने हो की भन्ने सम्भावना बढेको छ ।
दोस्रो लहरको संकेत
गत सोमबारदेखि बुधबारसम्म दश हजार १८१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४७० मा संक्रमण पुष्टि भएको छ ।पछिल्लो चौबीस घण्टामा मात्रै तीन हजार ९१९ जनाको परीक्षण गरिएकोमा १६२ जनामा संक्रमण पुष्टि भएको छ ।भारतमा कोरोना संक्रमण वृद्धि भएको एक महिनापछि मात्रै नेपालमा संक्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ ।
भारतमा फागुन अन्त्यमा चौबीस घण्टामा थपिने संक्रमित १२ हजारमा सीमित भएको थियो ।तर एक महिना नबित्दै दैनिक रुपमा थपिने संक्रमित करिव ६० हजार पुगेको छ ।भारतमा तीन साताको तुलना गर्दा संक्रमण वृद्धि दर पाँच सय प्रतिशतले बढेको देखिन्छ ।
डा. कर्माचार्यले अन्य छिमेकी राष्ट्रको अपेक्षा भारतमा देखिने संक्रमण नेपालसँग सम्बन्धित रहेको बताउनुहुन्छ ।
उहाँका अनुसार भारतमा संक्रमण बढेको एक महिनापछि नेपालमा संक्रमण बढेको ‘ट्रेन्ड’ देखिएको छ ।चैत महिना यता कोरोना संक्रमितको संख्या बृद्धि भएको छ ।
नेपालमा फागुन अन्त्यमा दैनिक संक्रमित थपिने संख्या ४८ सम्म पुगेको थियो ।दैनिक थपिने संक्रमित हाल १५० भन्दा माथि पुगेको छ ।फागुन १९ गते ७६६ जनामा कोरोनाभाइरसको संक्रमण सक्रिय रहेकोमा बिस्तारै बढ्ने क्रममा एक महिनापछि उक्त संख्या दोब्बर भएको छ ।
हाल एक हजार ४९३ जनामा भाइरसको संक्रमण सक्रिय छ ।
पछिल्लो एक सातामा मात्रै भारतमा ५९ प्रतिशतले संक्रमण वृद्धि भएको छ ।नेपाल र भारतमा मात्रै नभई दक्षिण एशियामै पनि कोरोना भाइरसको संक्रमण तीब्र रुपले बृद्धि भएको छ ।बंगलादेशमा एक सातामा संक्रमण ८४ प्रतिशतले वृद्धि भएको छ ।पाकिस्तानमा संक्रमण वृद्धि हुने दर २४ प्रतिशत छ ।भारतमा पछिल्लो दुई सातामा मात्रै १४० प्रतिशतले संक्रमण वृद्धि भएको छ ।
सोही अवधिमा बंगलादेशमा संक्रमित संख्यामा २४३ प्रतिशतले वृद्धि भएको छ ।दोस्रो लहर आउने सम्भावनालाई प्रती पीसीआर परीक्षणमा पुष्टि हुने संक्रमणले समेत बल पुर्याएको छ ।फागुन अन्तिम साता प्रति एक सय जनाको आरटीपीसीआर परीक्षण गर्दा एकदेखि दुईजनामा संक्रमणको पुष्टि भएको थियो ।
तर तीन सातापछि उक्त तथ्याङ्क फेरिएको छ ।हाल सङ्क्रमण दर चार पुगेको छ ।प्रति एक सय जना परीक्षण गर्दा चार जनामा सङ्क्रमणको पुष्टि भएको छ ।उक्त ‘ट्रेन्ड’ बढ्ने अवस्थामा भएको समाचार गोरखापत्रमा प्रकाशित छ ।