काठमाडौं महानगरपालिकाले दोस्रो चरण अन्तर्गत पहिलो प्राथमिकतामा परेका ६५ वर्षभन्दा माथिका उमेर समूहका व्यक्तिलाई लगाउँदै आएको कोभिड विरुद्धको खोप लगाउने कार्यसम्पन्न भएको जानकारी दिएको छ ।
‘दोस्रो प्राथमिकतामा परेकाहरुको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अर्को सूचना प्राप्त भए पश्चात पुनः खोप लगाउने कार्य शुरू गर्नेछौं,’ शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमन विभाग प्रमुख हरिबहादुर कुँवरले भने, ‘दोस्रो चरणको फागुन २३ गतेबाट शुरू कोभिड विरुद्धको खोप लगाउने कार्य सम्पन्न भएको छ । यो अभियानमा अहोरात्र खटिनुहुने सम्पूर्ण स्वास्थ्यकर्मी, स्वयंसेवक लगायत सम्बन्धित अस्पतालका व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीलाई धन्यवाद !’ उनले यो चरणमा काठमाडौं महानगरपालिकाका ३२ वटै वडाका १४ केन्द्रबाट ४८ हजार ६८ जनाले खोप लगाएको जानकारी दिए । ‘जसमध्ये २५ हजार ३२५ जना पुरुष र २२ हजार ७४३ जना महिलाले कोरोना विरुद्धको खोप लगाउनुभयो,’ कुँवरले भने, ‘प्राप्त तथ्यांकअनुसार सबैभन्दा बढी सिभिल हस्पिटलबाट ६ हजार ७१७ जनाले खोप लगाउनुभयो । दोस्रोमा ओम अस्पताल एण्ड रिसर्च सेन्टर चाबहिलबाट ३ हजार ९ सय ४८ जनाले खोप लगाउनुभयो ।’
वीर अस्पतालबाट ४ हजार ३७१, टिचिङ अस्पतालबाट ३ हजार ८४३, नेपाल प्रहरी अस्पतालबाट ३ हजार ७२०, हिमाल अस्पताल नक्शालबाट ३ हजार ७०९, टेकु अस्पतालबाट ३ हजार २६९, इस्तुपा अस्पताल बौद्धबाट ३ हजार २०२ र वीरेन्द्र सैनिक अस्पताल छाउनीबाट ३ हजार ८३ जनाले खोप लगाएको महानगरपालिकाले जानकारी दिएको छ । सबैभन्दा कम मदरल्याण्ड अस्पतालमा १ हजार २६७ जनाले खोप लगाएका छन् भने जनमैत्री अस्पतालमा २ हजार ४४८ र केएमसी अस्पताल सिनामंगलमा २ हजार ६१० जनाले लगाएका छन् । क्षत्रपाटी निःशुल्क चिकित्सालयमा २ हजार ८४२, प्रसूति गृह थापाथलीमा २ हजार ९९९ जनाले खोप लगाएका महानगरपालिकाले जानकारी दिएको छ । केही दिनअघि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य सहितको टोलीले महानगरपालिका क्षेत्र भित्रका कोभिड विरुद्धको खोप केन्द्रको अनुगमन गरेको थियो । अनुगमनका क्रममा प्रमुख शाक्यले खोपबाट कसैलाई वञ्चित गराउनुहुन्न भन्ने नेपाल सरकार र महानगरपालिकाको अभियान नै रहेको भन्दै देशको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र आफूले समेत खोप लगाइसकेकाले आम नागरिकलाई पनि ढुक्क भएर खोप लगाउन प्रोत्साहन दिएका थिए ।
अनुगमनकै क्रममा उनले केही समस्या देखिहाल्यो भने ३२ वटै वडाका जनप्रतिनिधि सहयोगका लागि घरदैलोमै आउने आश्वासन समेत दिएका थिए । काठमाडौं महानगरपालिका क्षेत्र भित्रका १४ स्थानमा खोप केन्द्रको व्यवस्था गरिएको थियो ।काठमाडौं महानगरपालिकाले सबै केन्द्रमा चिया, कुकिज, फलफूल, पानी र टेन्टको व्यवस्था गरेको थियो ।